१५ चैत्र २०८०, बिहीबार

प्रारम्भिक चरणमै खेलाडी बाहिरिएसंगै सकियो नेपालकाे ओलम्पिक यात्रा

Olympic

जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको छ ।

नेपालबाट १० मिटर शूटिङमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिला तर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गरेका थिए ।

आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा नौ जना सहभागी खेलाडी मध्य सरस्वती पुछारबाट दोस्रो भएकी थिइन ।

सरस्वतीले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गरिन भने आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सकिनन्। सरस्वती भन्दा पुछारमा रहेकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाएकी थिइन ।

सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पूरा गरेकी थिईन ।

दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पूरा गरेकी थिईन ।

युनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागी सरस्वती प्रारम्भिक चरणका तीन हिटमध्ये दोस्रो हिटमा रहेकी थिइन । हरेक हिटका शीर्ष तीन र एक उत्कृष्ट समय निकाल्ने खेलाडी प्रथम राउन्डका लागि छनोट भएका छन् ।