१३ बैशाख २०८१, बिहीबार

झापामा कोरोना सङ्क्रमणबाट एकै दिन पाँचको मृत्यु

covid death

झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको निधन भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् ।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि निधन भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलवार झापामा चार जनाको निधन भएको थियो ।

कोरोनाबाट धेरै निधन हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईँले बताउनुभयो । झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ ।