१६ चैत्र २०८०, शुक्रबार

रकम भुक्तानी नभएको भन्दै काठमाडौं आए उखु किसान

sugarcane farmer
फाइल फोटो

उखुको बक्यौता रकम भुक्तानी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन किसानहरु काठमाडौं आएका छन ।

उखु उद्योगबाट अझै ४१ करोड रकम पाउन बाँकी रहेको भन्दै सर्लाही र नवलपरासीका किसान काठमाडौं आइपुगेका हुन । सम्भव भएसम्म चिनी मिल उद्योगीसँग समेत भेट गरी ध्यानाकर्षण गराउने तयारी किसानको छ ।

ध्यानाकर्षण गराउदा पनि रकम भुक्तानी नभए पुनः आन्दोलनमा उत्रने उखु किसानको चेतावनी छ । सरकारले बक्यौता रकम तिर्न उद्योगीलाई दबाब दिएपनि पूर्ण रुपमा कार्यान्वयन नहुँदा किसान समस्यामा छन ।

पटक पटक भएको सहमतिका वावजुद उखु उद्योग सञ्चालकले भुक्तानी नदिएको किसानहरुको गुनासो छ । किसानहरुले २०७० सालदेखिकै रकम पाउन बाँकी रहेको छ ।

किसानलाई सर्लाहीको अन्नपूर्ण सुगर मिलले १२ करोड, महालक्ष्मी सुगरले १२ करोड, इन्दिरा सुगरले ४, श्रीराम र लुम्बिनीले समान ३÷३ करोड, बागमती खाँडसरीले ५० लाख दिन बाँकी छ । सरकारी बक्यौता समेत साढे ६ करोड रुपैयाँ रहेको छ ।