१३ बैशाख २०८१, बिहीबार

जसपा कार्यकारिणी समितिको पहिलो बैठकबाटै तीन सभासदलाई कार्वाही

jasapa 61

आधिकारिकता पाएको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी (जसपा)ले ‘एक्सन’ सुरु गरेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मंगलवार बसेको कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभामा रहेका आफ् ना पार्टीका निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरेको कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारीले जनाए ।‘उनीहरुलाई पहिलेपनि कार्वाही गरिएको थियो’ उनले भने, उनीहरु फेरी पार्टीको निर्देशन विपरित नेकपा एमालेको सरकारमा सहभागि रहेकाले पुनः कार्वाही गरिएको हो ।

प्रदेश सभामा एमालेका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा छन् । तर विभिन्न जालझेलगरि उनी मुख्यमन्त्रीबाट राजिनामा दिइरहेका छैनन् । पोखरेलको असंवैधानिक कदमलाई समेत सघाउने प्रदेश प्रमुख धर्मनाथ यादवलाई राष्ट्रपति विद्या देवी भण्डारीले हटाएकी छन् । त्यहाँ माओवादी केन्द्रका नेता अमिक शेरचनलाई प्रदेश प्रमुख बनाइएको छ ।

पोखरेलले अब प्रदेश सभालाई छलेर पदासिन रहने अवस्था नहुने विपक्षी नेताहरुको विश्वास छ । पोखरेल सरकारमा मन्त्री रहेका जसपाका तीनजनालाई कार्वाही गरिएपछि उनीहरु पदमुक्त रहेको अवस्थामा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिनु पर्ने अवस्था आउनेछ । जसपाको कार्यकारिणी समितिको बैठकले आफ्ना पार्टीका तीनैजनालाई कार्वाही गर्नुको प्रमुख कारण पोखरेलको सरकार ढाल्नु नै बताइन्छ ।

लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी भए पनि केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन् । कार्यकारिणी समितिको बैठकले पार्टीको संसदीय दलको विधान अनुमोदन गरेको नेतृ रेणु यादवले बताइन् ।

गत शनिवारको कार्यकारिणी समिति बैठकमा संसदीय दलको विधान छलफलका लागि सदस्यहरुलाई उपलब्ध गराइएको थियो ।समान्य सुझाव सहित त्यो विधानलाई अनुमोदन गरिएको उनले बताइन् । बैठकमा सरकारमा सहभागिता सम्बन्धी एजेण्डा, कार्यकारिणी समितिमा पदाधिकारी तोक्ने, जिम्मेवारी बाँडफाँड गर्ने लगायतका एजेण्डाहरुमा छलफल बाँकी रहेकाले बुधवारपनि दिउँसो १ बजे बैठक बस्ने यादवले बताइन् ।

आधिकारिकताका लागि यादव पक्षमा सनाखत गर्ने सबै ३४ जना सदस्यहरुको बैठकमा सहभागिता रहेको जनाउँदै नेतृ यादवले भनिन् ‘सरकार र पार्टीको जिम्मेवारीको विषयमा बैठकमा छलफल भएको छैन् । कार्यकारिणी समितिको अध्यक्ष रहेका महन्थ ठाकुर र वरिष्ठ नेता रहेका राजेन्द्र महतो हटेपछि पदाधिकारी तोक्न लागिएको छ ।

कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेतामा राजेन्द्र श्रेष्ठ र बाबुराम भटटराई रहेका छन् ।भट्टराईलाई संघीय परिषदको अध्यक्ष तोकिएपनि निर्वाचन आयोगमा विवरण अद्यावधिक भएको छैन् । नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित भै दल परिवर्तनगरि अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य अधिकारीले जनाए । तर यस अघि माओवादी केन्द्रले निष्कासन गरेका पालिकाका पदाधिकारीहरुलाई सर्वोच्च अदालतले पुनःबहाली गरेका थिए ।दलबदल सम्बन्धी कानुन पालिका स्तरमा प्रभावित नहुने बताइन्छ ।