१२ बैशाख २०८१, बुधबार

जीन्स लगाएको निहुँमा उत्तर प्रदेशमा १७ वर्षे किशोरीको ‘हत्या’

119556838 whatsappimage2021 07 24at10.28.05am 2

भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका साथ समाचारमा आएका छन्। ती घटनाले बालिका र महिला आफ्नै घरभित्र पनि कति असुरक्षित छन् भन्ने उजागर गरेका छन्।

गत साता उत्तर प्रदेशमा १७ वर्षीय नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको आरोप लागेको छ। ती आफन्तले नेहाले जीन्स लगाएको मन नपराएका र कुटपिट गरेको आरोप छ।

उनकी आमा शकुन्तलादेवी पासवानले बीबीसी हिन्दीलाई बताएअनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा-हजुरआमा र काका-काकीहरूले लट्ठीले कुटेका थिए। उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो। त्यो क्षेत्र उक्त राज्यको एकदमै कम विकसित क्षेत्रमध्ये पर्छ।

उनकी आमा शकुन्तलादेवीले भनिन्, “ऊ दिनभरि व्रत बसेकी थिई। साँझमा उसले जीन्स र टप लगाएर पूजा गरी। उसका हजुरबा-हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाए। नेहाले लगाउनकै लागि जीन्स बनाएकाले आफूले लगाउने बताई।”

117630434 bf60216d 9a9f 4524 bc69 990a26bf21d7

उक्त विवाद बढेको र त्यसले हिंसाको रूप लिएको उनले बताइन्। शकुन्तलादेवीका अनुसार नेहा अचेत भएपछि उनका आफन्तले एउटा ट्याम्पो बोलाएर त्यसैमा अस्पताल लगेको बताए।

उनले भनिन्, “उनीहरूले मलाई सँगै जान दिएनन्। त्यसैले मैले मेरा आफन्तलाई त्यसबारे जानकारी गराएँ। उनीहरू जिल्ला अस्पतालमा जाँदा त्यहाँ उनीहरूले नेहालाई भेटेनन्।” भोलिपल्ट शकुन्तलादेवीले गण्डक नदीमा बनेको पुलमा एउटी किशोरीको शव झुन्डिरहेको अवस्थामा देखिएको खबर पाइन्।

त्यहाँ पुगेर हेर्दा त्यो शव नेहाकै भएको थाहा भयो। प्रहरीले नेहाका हजुरबा-हजुरआमा, काका-काकी, काका-काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको छ। आरोपितले हालसम्म सार्वजनिक बयान दिएका छैनन्।

– बिबिसिबाट