६ चैत्र २०८०, मंगलवार

अमेरिकी सेनाले यो वर्षको अन्त्यसम्म इराक छाड्ने

Biden
फाइल फोटो

अमेरिकी सेनाले यस वर्षको अन्त्यसम्म इराक छाड्ने राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

व्हाइट हाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–काधिमीसँगको छलफल पछि राष्ट्रपति बाइडेनको यस्तो घोषणा गरेका हुन् । काधिमीले इराकमा कुनै पनि विदेशी सेना आवश्यक नभएकोमा जोड दिएका छन् ।

इराकमा अहिले २ हजार ५ सय अमेरिकी लडाकू सेनाले स्थानीय सेनालाई बाँकी रहेका इस्लामिक स्टेट सशस्त्र समूहसँग प्रतिरोध गर्न सहयोग गरिरहेको छ । अमेरिकी सेना फिर्ता भएपनि इराकी सेनालाई तालिम र सल्लाह दिने काम भने कायमै रहनेछ ।

इराकबाट सेना फिर्ता बोलाउने कदम इराकी प्रधानमन्त्रीलाई सहयोग गर्ने प्रयासको रूपमा हेरिएको छ ।

गत वर्ष राजधानी बगदादमा अमेरिकी ड्रोन हमलामा एक जना शीर्ष इरानी जनरल कासिम सुलेमानी र इरान समर्थित शिया मुस्लिम मिलिशियाका नेता मारिएपछि इराकमा अमेरिकी उपस्थिति प्रमुख मुद्दा बनेको छ ।

इरानसँग सम्बन्ध भएका राजनीतिक दलले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।