७ बैशाख २०८१, शुक्रबार

नेपालमा ४७ करोडको गोलभेंडा आयात

tomato kheti
फाइल फोटो

गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गएको वर्षमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको हो । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कुल ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा गत आवमा सो आयात बढेर झन्डै साढे १५ खर्ब रुपैयाँ पुगेको छ ।

विभागको तथ्यांकअनुसार आयातसँगै निर्यात पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । गत आवको असार मसान्तसम्ममा कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख रुपैयाँबराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

झन्डै ४७ करोडको गोलभेंडा आयात

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै ४७ करोड रुपैयाँको गोलभेंडा (टमाटर) मात्र आयात भएको छ । कृषिप्रधान देशमा उपभोक्ताको मागअनुरूप स्वदेशी उत्पादनले नधानेपछि एक वर्षको अवधिमा गोलभेंडा खरिदमा मात्र यति धेरै रकम बाहिरिएको हो ।