१५ चैत्र २०८०, बिहीबार

‘तत्कालका लागि खोप अभियानमै लगानी केन्द्रित गरिने’

photo 8

अर्थमन्त्री जनार्दन शर्माले तत्कालको लागि खोप अभियानमै लगानी केन्द्रित गरिने बताउनुभएको छ ।

आइतबार पूर्व अर्थमन्त्रीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले र तत्कालको लागि सरकारको प्राथमिकतामा रहेको खोप अभियानमै लगानी केन्द्रित गरिने जानकारी बताउनुभएको हो ।

पूर्ण खोप अभियानको सफलतामा नै अर्थतन्त्रको पुनर्जीवन आश्रित रहेको उल्लेख गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको सङ्कट समाधान गर्न सरकारले पहल गरिरहेको जानकारी दिनुभयो ।

विकास बजेट कटाएरै भए पनि खोप खरिद गरेर आर्थिक गतिविधि चलायमान बनाउने कामलाई प्राथमिकता दिइएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो । राज्यका सबै क्षेत्रमा आत्मनिर्भरता सम्भव नभए पनि स्रोत व्यवस्थापनमा आत्मनिर्भर हुनैपर्छ भन्दै मन्त्री शर्माले त्यसको लागि औद्योगिक उत्पादन वृद्धि गर्ने गरी नीतिगत व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने सोचका साथ आफूले काम गरिरहेको र अध्यादेश बजेटको निकास सँगै ठोस कार्यक्रम बनाएर काम गर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुँजीगत खर्च नबढ्नुमा विकासे मन्त्रालयहरूको मात्र कमजोरी छ कि अर्थ मन्त्रालयको पनि कुनै कमजोरी छ भन्ने कुराको गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिनुभयो ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा केही समय स्रोत नखोज्ने नीति अख्तियार गर्न सुझाव दिनुभयो ।

यस्तै पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अर्को बजेट ल्याउन सम्भव नदेखिएको भन्दै कृषि, जलस्रोत, पर्यटन, हस्तकला र जडीबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनु भयो । उहाँले ४० लाख डिम्याट खाता खुलिसकेको पुँजी बजारलाई स्वतन्त्र छाडेर अन्य क्षेत्रमा सुधारात्मक कदम चाल्न सकिने सुझाव दिनुभयो ।

कार्यक्रममा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रको वर्तमान स्थितिको झलक प्रस्तुत गर्नुहुँदै गत आर्थिक वर्षको चालु खर्च ८९.६८ प्रतिशत र पुँजीगत खर्च ६४.७१ प्रतिशत भएको जानकारी दिनुभयो ।