१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका कांग्रेस सांसद श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी

umesh sapatha 69

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका व्यवसायी सांसद उमेश श्रेष्ठलाई स्वार्थ बाझिने स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री बनाउनुभएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैले राखेर प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाउनुभएको छ ।

श्रेष्ठको नियुक्तीसँगै मन्त्रिपरिषद ६ सदस्यीय भएको छ । गठबन्धनमा रहेका दलले सरकारमा पठाउने व्यक्ति छनौट गर्न नसकेपछि प्रधानमन्त्रीले देउवाले मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन ।

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बढी हुने भएकाले देउवाले तत्काल काम चलाउन श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु भएको हो । मुलुक कोरोना संकटबाट जुधिरहेका बेला स्वास्थ्यमन्त्री नियुक्त नभएपछि प्रधानमन्त्रीमाथि छिटो नियुक्तिको लागि दबाब परेको थियो ।

तर प्रधानमन्त्रीले श्रेष्ठलाई राज्यमन्त्री मात्रै बनाउनुभएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री श्रेष्ठलाई आजै प्रधानमन्त्री देउवाले सिंहदरबारमा सपथ गराउनु भएको छ । सपथ लगत्तै श्रेष्ठले सरकारी अस्पताल राम्रो बनाउने र कोरोना खोप पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विज्ञ र नागरिक समाजका तर्फबाट योग्य र इमानदार व्यक्तिलाई मन्त्री बनाउन माग भैरहेका बेला प्रधानमन्त्री देउवाले स्वार्थ बाझिने व्यक्तिलाई राज्यमन्त्री बनाउनुभएको छ ।

व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालय दिइएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना शुरु भएको छ । नेपाली कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ लिटल एन्जल्स स्कूलका सञ्चालक हुनुहुन्छ ।

प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहनु भएको छ । उहाँले अस्पतालको चेन बनाउने भन्दै केही समय अघि ५० करोड रुपैयाँ लगानी गर्ने घोषणा गर्नुभएको थियो ।

जनमैत्री, महेन्द्रनारायण निधि अस्पतालमा श्रेष्ठको लगानी छ । उहाँले होटल, घरजग्गा तथा कृषिमा पनि लगानी हुनुहुन्छ ।