७ बैशाख २०८१, शुक्रबार

पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनु पर्छ : ओली

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका अन्तरघातीलाई नङ्ग्याउनुपर्ने बताएका छन् । अखिल नेपाल महिला संघले आइतबार गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दैं अध्यक्ष ओलीले पार्टीलाई ध्वस्त पार्न खोज्नेबाट जोगाउनु पर्ने बताए ।

स्वार्थको किनबेचबाट भन्दा पनि विचार र सिद्धान्तमा केन्द्रित भई अनुशासनमा बाँधिएको अग्रगामी शक्ति एमाले भएको ओलीको भनाई छ । ओलीले पार्टीका केही मानिस प्रतिक्रियावादीका पछि हिँडेर आन्दोलन कमजोर बनाएको बताए ।

प्रतिक्रियावादीसँग भित्री साँठगाँठ गरेर आफ्नै सरकार ढाल्ने, पार्टी फुटाएर सजिलो बनाइदिएका घटना पनि आफूहरूले देखिरहेको ओलीको भनाई छ । ‘त्यस्तालाई पार्टीले क्षमा गर्छ। साथीहरू गल्ती नगर्नुस्,’ओलीले भने । पार्टीको पक्षमा उभिन पनि आग्रह गरेका छन् । बाटो बिराएर गएकालाई फर्केर आउन उनले आग्रह गरेका छन् ।

यस्तै ओलीले देशको मुहार फेर्ने अभिभारा भएको पार्टी एमाले भएको बताएका छन् । उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको बताए ।

ओलीले भने, ‘एमाले कुनै गुण्डा दल होइन। परिपक्व राजनीतिक पार्टी हो। यसलाई देशको मुहार फेर्ने अभिभारा छ।’ उनले देशको धेरै जनसंख्या एमालेको पक्षमा रहेको पनि बताए ।