८ बैशाख २०८१, शनिबार

देशभर आगो बाल्छौं एमाले फुटाउने अध्यादेश ल्याए

mahesh basnet after second parliamnet restoration SCnepal
फाइल फोटो

नेकपा (एमाले)का नेता महेश बस्नेतले युथफोर्सप्रति पार्टी बाहिर र भित्रैबाट पनि आशंका पालिएको भन्दै त्रसित नुहन आग्रह गरेका छन् ।

शनिबार युथफोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘युथफोर्स फेरि जन्मिएको छ । पार्टी भित्र र बाहिबाट आशंका पालिएको छ । धेरै त्रसित नुहुनका लागि आग्रह गर्दछु ।’

कार्यक्रमा बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए ।

‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।

युवासंघका इन्चार्ज समेत रहेका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी हुने चेतावनी दिएका छन्। ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’

युथफोर्सले सरकारसँग सहकार्य गरेर रचनात्मक काम गर्न तयार रहेका बताए । बस्नेतले भने, ‘युथफोर्स देउवा सरकारविरुद्ध बनेको होइन । हाम्रो सरकारले गरेका राम्रा कामअघि बढाउने काम गर्यो भने सहकार्य गर्न तयार छौं । रचनात्मक बन्न तयार छौं ।’

उनले आफ्नो पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबसर सेनासँग मिलेर ठेगान लगाउने चेतावनी दिए । ‘बुद्धिजीवीविरुद्धको संगठन होइन,’ बस्नेतले भने, ‘ बुद्धिजीवीको नाममा कुनै पार्टीको प्रतिनिधि बनेर हाम्रो पार्टीविरुद्ध बिष ओकल्नेलाई युथ फोर्सले साइबर सेनासँग मिलेर बौद्धिक अराजकतावादीहरुलाई ठिक ठाउँमा राख्ने छ।’

उनले युथ फोर्स कुनै अदालतविरुद्ध खोलिएको संगठन होइन नभएको समेत बताए। बस्नेतले युथफोर्स माधव नेपालविरुद्ध नभई माधव नेपाल प्रवृत्तिविरुद्ध रहेको समेत बताए।