१५ चैत्र २०८०, बिहीबार

न्यायकाे पर्खाइमा, कुटपिटपछि मानसिक सन्तुलन गुमाएकी पीडित डुकादेवी

dukummmaa

मोरङको कानेपोखरी–५ चिसाङ बस्तीकी डुकादेवी दर्जी तामाङ यतिबेला वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा १५ दिनयता उपचाररत हुनुहुन्छ ।

मोबाइलको सिम चोरेको आरोपमा छिमेकीले मरणासन्न कुटपिट गरेपछि डुकुमायाको मानसिक सन्तुलन गुम्यो । मानसिक सन्तुलन गुमेपछि डुकादेवीलाई घर परिवारले बाँधेर घरमै राखे । देउदेउता लागेको भनेर धामी झाँक्री लगाए । बैद्य र विजुवा सबैलाई देखाए । तर, उहाँको होस फर्किएन ।

स्वास्थ्य अवस्था झनै गम्भीर भएपछि कानेपोखरी–५ का वडाध्यक्ष चरण गुरुङले उपचारका लागि अस्पताल पठाउनुभयो । उहाँले नै १५ हजार रुपियाँ समेत उपलब्ध गराएर अस्पताल भर्ना हुनुभएकी तामाङको उपचारका क्रममा प्रयोग भएका औषधिका कारण तीन महिनाको गर्भसमेत तुहिएको छ ।

पेटको बच्चा खेर गएपछि उहाँको अवस्था अझ जटिल भएको बुवा हर्कबहादुर दर्जीले बताउनुभयो । हर्कबहादुरका अनुसार गत वैशाख ३१ गते छिमेकीले मोबाइलको सीम चोरको आरोपमा कुटपिट गरेका थिए ।

हर्कबहादुरकी छोरी डुकादेबी सोही स्थानका कुमार तामाङसँग अन्तरजातीय विवाह गरी माइती नजिकै बस्दै आउनुभएको छ । घरमा डुकुमायाकी आठ वर्षीया छोरी छिन् । कमजोर आर्थिक अवस्थाको तामाङ परिवारले उपचार खर्च जुटाउन छैन । पीडित डुकाका बुवा हर्कबहादुर दर्जीले भन्नुभयो – ‘अढाई लाख रुपियाँ खर्च भइसक्यो । कुटपिट गर्नेहरू छाति फुलाएर हिँडिरहेका छन् ।’

डुकाको माइती तर्फबाट दलित अधिकारकर्मीहरूको सहयोगमा जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता भएको थियो । तर, अदालतले २५ हजार रुपियाँका दरले धरौटी लिएर तीनै जनालाई छोडेपछि डुकादेवीको माइती परिवार यतिबेला न्याय खोज्दै भौंतारिरहेको छ ।
शुक्रबार दर्जी परिवारले गर्भ संरक्षण विरुद्धको कसुर उपर इलाका प्रहरी कार्यालय पथरीमा मुद्दा दर्ता गराएको छ ।

वैशाख ३१ गते डुकादेवीलाई कुटपिट गर्ने मगर परिवार २२ वर्षीया पुष्पा २४ वर्षीया बविता, ४० वर्षीया नीरमाया र अन्दाजी ५०÷५५ वर्षीया बिन्दामाया मगरलाई विपक्षी बनाई मुद्दा दायर गरिएको हो । दमाई छोरी तामाङसँग विवाह गरेर ठूली भइस् भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ ।