७ बैशाख २०८१, शुक्रबार

माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

Bimalendra Nidhi
फाइल फोटो

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै चुनाव गराउने बताए । काँग्रेससँग ६१ सिट मात्र रहेपनि प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवाले १६५ जनाको समर्थत प्राप्त गरेको कार्यकर्तालाई सुनाए ।

कार्यकर्तालाई उनले भने, ‘काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । विगतमा कांग्रेसले चुनाव हारेकै कारण देशका हरेक क्षेत्रमा भाँडभैलो भएको छ । अब अगामी चुनावमा गाछी छापलाई जिताउने वातावरण बनाउनमा लाग्नुस् ।’

कसैलाई हराउनका लागि नभएर काँग्रेसलाई प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जिताउनका लागि आफू १४ औं महाधिवेशनबाट पार्टीको सभापति बन्न चाहेको उनको भनाई थियो ।