१५ चैत्र २०८०, बिहीबार

नेपाल समूहलाई बाटो बिराएको र भड्किएको भन्दै माफी दिने संस्थापन समूहको निर्णय

uml 10 th meeting 1024x558 1

नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट नेपाल –खनाल पक्षलाई बाटो बिराएका र भड्किएका भन्दै माफी दिने निर्णय गरेको छ ।

केन्द्रीय कमिटी बैठकले एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै माफी दिने गरी प्रयास गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी एकताका लागि माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले सबैलाई समेट्न केही दिन अधिकतम प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

स्पष्टिकरण र कारवाहीको चेतावनीसहित आक्रामक हुँदै केन्द्रीय कमिटी बैठक शुरु गरेको संस्थापन पक्षले अन्तिम दिन लचिलो निर्णय गरेको छ ।

एकताका लागि छलफल चलिरहेकाले कारवाहीको निर्णय नभएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।

विघटित कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको र कारवाही हुने नहुने भन्ने निर्णय नेपाल–खनाल पक्षका आगामी गतिविधिमा निर्भर हुने ज्ञवालीले बताउनुभयो ।

एकताको कुरा गरेपनि एमाले संस्थापनले नेपाल–खनाल समूहलाई बाटो बिराएका र भड्किएका भनेकाले एकता हुने संभावना भने यसले कमजोर बनाउने विश्लेषण गर्न थालिएको छ ।

नेपाल–खनाल समूहले आफूहरुको संघर्ष राजनीतिक र वैचारिक भएको बताउँदै आएको छ ।