१६ श्रावण २०७८, शनिबार

चीनसँग खरिद गरिएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै

nepal airlines

चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ।

गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताउनुभयो । भेरोसेल लिएर आएको विमान फेरि खोप लिन आजै बेइजिङ उड्ने छ।

निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।

यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । आज पनि सोही संख्यामा खोप आउने जनाइएको छ।

सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ ।

जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन्। सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।