८ बैशाख २०८१, शनिबार

अध्यक्ष ओली पक्षले नै एकतामा भाँजो हालेको नेपाल–खनाल समूहको निष्कर्ष

madhav jhalanath
फाइल फोटो

नेकपा एमालेको नेपाल–खनाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले नै एकतामा भाँजो हालेको निष्कर्ष निकालेको छ ।

काठमाडौंमा आज बसेको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधेर एकतामा भाँजो हाल्ने काम भएको निष्कर्ष निकालेको हो । अदालतको फैसलामा सांसदले विवेक प्रयोग गर्न पाउने भनेकाले स्पष्टिकरणको अर्थ नभएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

तर बैठकले पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिएको छ । अहिले पनि वार्ता चलिरहेकाले एकतामै सबैले जोड दिएको पन्तले जानकारी दिनुभयो । वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाउने काम भैरहेकोमा बैठकले आपत्ति जनाएको छ ।

एकता वार्ता चलिरहेको र १० बुँदे प्रस्ताव तयार पारेका बेला स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता नेपालविरुद्ध पुत्ला जलाउने लगायतका काम तत्काल रोक्न नेपाल– खनाल समूहले माग गरेको छ ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएको भन्दै नेता नेपालसहित २२ जनालाई स्पष्टिकरण सोधेको छ । र पार्टीबाट निष्काशन गर्ने तयारी गरेको छ । तर नेपालखनाल समूहले यसलाई ठाडै अस्वीकार गर्दै आएको छ ।