८ बैशाख २०८१, शनिबार

कोरोना नियन्त्रणका लागि सरकारको सबै प्रयास केन्द्रित : प्रधानमन्त्री

sherabadhur
फाइल फोटो

धानमन्त्री शेरबहादुर देउवाले कोरोनाको महामारीलाई परास्त गर्न नेपालका उद्योगी व्यवसायीसहित सबै प्रतिबद्ध हुनु आवश्यक भएको बताउनुभएको छ ।

नेपाल उद्योग परिसंघको १८औँ वार्षिक साधारण सभाको आज काठमाडौँमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मुलुकको पहिलो आवश्यकता जीवनको सुरक्षा भएकोले सरकारले आफ्ना सबै प्रयासलाई कोरोनाको प्रकोप न्यूनीकरण र त्यस विरुद्धको खोपको उपलब्धतातर्फ केन्द्रित गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलुकको लागि विकास लगायतका अन्य धेरै कुराको आवश्यकता रहे पनि सबैभन्दा महत्त्वपूर्ण काम खोपको वितरणमा लागेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देउवाले कोरोना महामारी विरुद्ध सरकारले अघि बढाएको अभियानमा हातेमालो गरेर अघि बढ्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नव नियुक्त अर्थमन्त्री उत्साही व्यक्ति भएकोले उहाँले कोभिडको अवस्थाले अप्ठ्यारोमा रहेको मुलुकको अर्थतन्त्रलाई अघि बढाउन भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा अर्थमन्त्री जर्नादन शर्माले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन सरकार निजी क्षेत्रको साथ लिएर अघि बढ्ने बताउनुभयो ।

अर्थमन्त्री शर्माले उद्योगी व्यवसयीहरुको पहलमा अघि सारिएको मेक इन नेपाल अभियान नेपालको आर्थिक विकास, रोजगारी सिर्जना, आयातको प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सहयोगी हुनु आवश्यक भएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले मेक इन नेपाल अभियान अन्तर्गत नेपालमा निर्माण हुने वस्तुहरू गुणस्तर, परिमाण तथा मूल्यका दृष्टिले समेत विश्वव्यापी रूपले प्रतिस्पर्धी हुनु पर्नेमा जोड दिनुभयो ।

अर्थ मन्त्री शर्माले स्थानीय स्तरमा साना उद्योगहरूको व्यापक सञ्जाल निर्माण गरेर साना उद्योगहरूको बीचमा ठुला उद्योग निर्माण गर्नु आवश्यक भएकोमा पनि जोड दिनुभयो ।

नेपालको आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन उद्योग क्षेत्रलाई प्रतिस्पर्धी र प्रविधियुक्त बनाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका संस्थापक अध्यक्ष विनोद चौधरीले सरकारले कोरोनाको खोपको प्रबन्ध गरी नेपाललाई दक्षिण एसियाको आकर्षक लगानी गन्तव्यको रुपमा अघि बढाउनु पर्ने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिषकुमार मोरले सरकार, उद्योगी व्यवसायी र सर्वसाधारण उपभोक्ताहरूले नेपालमा उत्पादन हुने वस्तुहरूको उपभोगमा जोड दिए मात्र मुलुकको व्यापार घाटा कम गर्न सकिने उल्लेख गर्नुभयो ।

स्वदेशी उत्पादन देशको शान, यसको उपभोग हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरू अनुज अग्रवाल, निर्वाण चौधरी लगायतका वक्ताहरूले मेक इन नेपालको विभिन्न पक्षमा चर्चा गर्नु भएको थियो ।

निर्यात लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण काम गर्ने उद्योगी व्यवसायीहरूलाई सम्मान गरेको सम्मेलनले नेपाल उद्योग परिसंघको आगामी नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ ।