१३ बैशाख २०८१, बिहीबार

जसपा विवादको मुद्दाको सुनुवाइ बिहीबारबाट हुने

Election Commission Nepal

जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने भएको छ । साउन ३ गतेदेखि निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । आयोगले आइतबार दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको थियो । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो भने जसपा विवदा हेर्दाहेर्दैमा राखिएको थियो ।

आयोगको इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको थियो । तर, आज परेको मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल ओहा) अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण जसपा विवादको सुनुवाई बिहीबारबाट हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारिकता दाबी गरेका छन् ।