८ बैशाख २०८१, शनिबार

३९औंँ विपी स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

bp koirala

नेपाली कांग्रेसका संस्थापक एवं देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला)को ३९औंँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशन तयारी गरिरहँदा यो दिवस जिल्लाको स्थानीय परिस्थितिअनुसार मनाउन परिपत्र गरेको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभयो ।

वि.सं. १९७१ भदौ २४ गते जन्मनुभएका कोइरालाको २०३९ साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो । राजनीतिमा ‘बीपी’ र नेपाली साहित्यमा ‘विश्वेश्वर’को नामबाट परिचित कोइराला जहानियाँ राणा शासनविरुद्धको क्रान्तिका एक नायक हुनुन्थ्यो ।

उहाँले राजनीतिलाई मूल्य र आदर्शको परिधिमा राख्नुुभयो । राणा शासनको अन्त्यसँगै ३६ वर्षको उमेरमा गृहमन्त्री बन्नुभएका कोइराला २०१५ सालको आमनिर्वाचनमा नेपाली कांंग्रेसले दुई तिहाइ स्थान प्राप्त गरेपछि उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री हुनुभयो ।

उहाँले जनतालाई सर्वोपरि राखेर गरेको राजनीतिबाट तत्कालीन राजा महेन्द्रलाई सह्य भएन । निर्वाचित सरकारलाई अपदस्त गरी प्रधानमन्त्री बीपीलगायतका नेतालाई सेनाको बलमा आठ वर्ष बन्दी बनाइयो ।

त्यसपछि उहाँ आठ वर्ष प्रवास र फेरि स्वदेश फर्केर पञ्चायतविरुद्ध लड्दा कठोर काराबास र संघर्षमै उहाँको जीवन बित्यो ।