८ बैशाख २०८१, शनिबार

सम्मानजनक बिदाई गर्छौं, कृपया एमाले छोड्नुहोस्

mahesh basnet after second parliamnet restoration SCnepal
फाइल फोटो

नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव दिएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले नेता नेपालको सम्मानजनक बिदाई गर्ने बताए। 

‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी पुतला जलाउँदैनौँ, तपाइँलाई सम्मानजनक बिदाइ गर्छौं, उनले भने, ‘तर एमालेमा बसेर एमाले बर्बाद गर्ने शक्तिहरूलाई युवा संघले तह लगाउनै पर्छ।’

सम्बोधन गर्दै बस्नेतले ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु- साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ,’ बस्नेतले भने, ‘तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुतला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’

नेता नेपालले नीति, विधि र पद्धतिको कुरा गर्ने तर आफू समानान्तर गतिविधि गर्दै अघि बढेको भन्दै उनले आक्रोश पोखे ।

‘तपाईं नीति र विधिको कुरा गर्नु हुन्छ भने तपाइँ एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ, तर एमालेमा बसेर एमालेको हित विरुद्ध काम गर्न पाउनुहुन्न । समानान्तर कमिटी बनाउने समानान्तर गतिविधि गरेर पार्टी अध्यक्षको हजारौं पुत्ला जलाउने यो महा अपराध गर्नुभयो भन्ने युवा संघको निश्कर्ष हो।

बस्नेतले थपे, ‘तपाइँले आफ्ना केटाकेटी लगाएर केपी ओलीको धेरै पुत्ला जलाउनुभयो, तपाइँलाई बडो आनन्द लाग्यो होला, तपाईंका दुईवटा पुतला जल्नेवित्तिकै नीद हराम भयो? 

संसद र संविधान बचाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन तयार हुनेले केपी ओलीले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएपछि विश्वासको मत किन नदिएको भन्दै बस्नेतले प्रश्न गरे । 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि आफूहरुसँग डराएको आरोप लगाए । 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको बारे पनि प्रतिक्रिया जनाए । प्रचण्डसँग आफूहरू नभइ प्रचण्ड डराएर सुरक्षा थपेको दावी बस्नेतले गरे । ‘प्रचण्डलाई थ्रेट बढ्यो रे,’ उनले भने, ‘डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिए रे हिजो ।’

बस्नेतले थपे, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौं । तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’