१५ चैत्र २०८०, बिहीबार

विचाराधीनमा भीम रावलले संसद पदबाट दिएको राजीनामा

BHIM RAWAL 12 20210330182219
फाइल फोटो

एमाले उपाध्यक्ष भीम रावलले संसद सदस्यबाट दिएको राजीनामा स्वीकृत भएकाे छैन । रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि आइतबार सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले रावलको राजीनामा विचाराधीन अवस्थामा रहेको जानकारी दिए । ‘अहिले केही भएको छैन्,’ उनले भने, ‘सभामुखलाई बुझाउनु भएको हो । सभामुखले सभामा घोषणा गरेमा वा सूचना टाँसेमा मात्रै त्यो ‘इफेक्टिभ’ हुन्छ । अहिलेसम्म त्यो विचाराधीन अवस्थामा छ।’

एमालेभित्रैबाट राजीनामा फिर्ता लिन रावललाई दबाब परेको छ। नेता सुरेन्द्र पाण्डेले रोक्दारोक्दै उनले राजीनामा पत्र पत्रकारहरुमाझ पढेर सुनाएका थिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको १०औं केन्द्रीय कमिटी बैठकमा रावलले हतारिएर राजीनामा दिएको भन्दै सकिने भए फिर्ता गराउनुपर्ने बताएका थिए ।

ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको भनेका हुन् ।

बैठका निर्णय सुनाउँदै प्रवक्ता प्रदीप ज्ञवालीलले पनि संवाददाताहरुमाझ रावलको राजीनामा ठीक नभएको बताए। एमाले नेता वामदेव गौतमले पनि राजीनामा अनुपयुक्त भएको बताएका थिए ।