१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्ः निष्ठावान् कांग्रेस थिचोमिचोमा पर्‍यो, पार्टी कब्जा गर्न खोजियो

ramchandra
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताका लागि पार्टीभित्र भइरहेका आन्दोलनप्रति समर्थन जनाएका छन् ।

देशभर निष्ठावान कांग्रेसलाई अल्पमतमा पारेर पार्टी कब्जा गर्न खोजिएको भन्दै वरिष्ठ नेता पौडेलले पार्टी कार्यालय सानेपामा भएका ‘अनसन’ प्रति आफ्नो ऐक्यबद्धता रहेको जनाए । नेता पौडेलले सानेपा पुगेर क्रियाशील सदस्यताबारे अनसन बसेका नेता कार्यकर्ताको आन्दोलनमा समर्थनसमेत जनाएका छन् ।

‘देशभरीका कांग्रेस आज विचल्लीमा परेका छन् । निष्ठावान् कार्यकर्तालाई किनारा लगाउन खोजिदैछ । त्यसविरुद्ध पार्टी कार्यालयमै धर्ना र आमरण अनसन बस्नुपर्ने अवस्था आएको छ । यो अत्यन्तै दुःखद छ । यो आन्दोलनमा मेरो पूर्ण ऐक्यबद्धता छ’, पार्टी कार्यालयमा भइरहेका आन्दोलनमा समर्थन जनाउन सानेपा पुगेका पौडेलले सञ्चारकर्मीसँग भने ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा विभिन्न जिल्लाका नेता कार्यकर्ताहरुले क्रियाशील सदस्यता वितरणमा असन्तुष्टी जनाउँदै धर्ना दिइरहेका छन् । धनुषाका कांग्रेस नेता पूर्व सांसद चन्द्रमोहन यादवसहित रामपल्टन साह र दिनेश नायक आमरण अनसनमा बसेका छन् । त्यस्तै बारा, सर्लाही, मकवानपुर लगायत जिल्लाका कांग्रेस कार्यकर्ताहरु पनि सानेपामा धर्नामा रहेका छन् ।

उनीहरूले समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण भएको, विधान र निर्देशिका उल्लंघन गरिएको लगायतका आरोप लगाउँदै आएका छन् । कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले विवाद निरुपणको जिम्मा पाएपनि अहिलेसम्म टुंग्याउन सकेको छैन ।

महामन्त्री डा. शशांक कोइरालाको निवासमा संस्थापनइतर समूहका नेताहरुसँग छलफल सकिएलगत्तै पौडेल सानेपा पुगेर कार्यकर्ताको आन्दोलनमा सहभागी भएका हुन् ।