१६ चैत्र २०८०, शुक्रबार

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, पार्टी अनुशासन उल्लङ्घन गर्ने माथि कारवाहीबारे निर्णय हुने

uml standing 4 1
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पूर्व निर्धारित बैठक विहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरुलाई पार्टी अनुशासन उल्लंघनको कारवाही बारे छलफल हुने उहाँले बताउनुभयो । एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टीको निर्देशन विपरित गए पार्टीको सदस्य नरहने चेतावनी दिएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए ।

त्यस्तै, आजको बैठकमा पार्टीको विधान महाधिवेशनको विषयमा पनि छलफल हुने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो । उहाँकाअनुसार यही साउन २५ मा हुन गइरहेको विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

आजको बैठकका लागि नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खवर गरिएको भए पनि बैठकमा आउने नआउनेबारे खवर नआएको उहाँले बताउनुभयो । पार्टी एकतालाई सुदृढ बनाउने अभियान जारी रहेको भन्दै हिजो विघटित कार्यदलका सदस्यहरुले प्रधानमन्त्री देउवालाई भोट नदिएर पार्टी एकताको पक्षमा रहेको सन्देश दिनुभएको थियो । उपाध्यक्ष भीमबहादुर रावल भने पदबाट नै राजिनामा दिनुभयो ।