१५ चैत्र २०८०, बिहीबार

वीरगञ्ज भन्सारमा ठूलो परिमाणमा थन्कियो नब्बे कन्टेनर केराउ अरू ६० कन्टेनर आउँदै

Transport

गत अघिल्लो आर्थिक वर्षको अन्त्यमा वीरगञ्ज भन्सारमा ठूलो परिमाणमा केराउ आइपुगेको छ । वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ९० वटा कन्टेनरमा केराउ आइपुगेको सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ ।

एउटा कन्टेनरमा २० देखि २२ मेट्रिक टन केराउ अट्ने भएकाले १८ सयदेखि करिब दुई हजार मेट्रिक टन केराउ भन्सारमा रहेको हो । अरू ६० वटा कन्टेनरमा थप केराउ आउँदै गरेको अनौपचारिक जानकारी पाएको भन्सारका अधिकारीले बताएका छन् । केराउमा परिमाणात्मक बन्देज रहेकाले वीरगञ्ज भन्सार कार्यालयले जाँचपास नगरी रोकेर राखेको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत चुडामणि कट्टेलले केराउ कोटामा आयात हुने र अहिले चालू आर्थिक वर्ष २०७८/७९ का लागि भन्सार विभागले केराउ छाड्नू भनेर परिपत्र नगरेकाले जाँचपास गर्न नमिलेर जाँचपास नगरी रोकेर राखेको बताउनुभयो ।

केराउ लोड भएका १० कन्टेनर असार ३० गते र बाँकी ३१ तथा साउन १ गते आएको जानकारी दिँदै सूचना अधिकारी कट्टेलले आज ३ गते दुई प्रज्ञापन पत्र आएको त्यसमा पेस गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत जेठ २४ र असार २८ गते जारी गरेका दुई पत्रका आधारमा जाँचपास गर्न नसकिएकाले रोकिएको स्पष्ट पार्नुभयो ।

हामीले भन्सार विभागमा पनि सोधेका छौँ, पेस गरिएका पत्रबारे वाणिज्यमा पनि बुझ्दै छौँ, अर्को आर्थिक वर्ष भएकाले माथिको निर्देशन नआइकन जाँचपास प्रक्रिया नै पूरा हुँदैन, भन्सार सूचना अधिकारी कट्टेलले भन्नुभयो ।

९० कन्टेनरका अतिरिक्त अझै ६० कन्टेनर केराउ बाटोमा नै आउने क्रममा रहेको अनौपचारिक रूपमा जानकारीमा आएको भन्सार कार्यालयका सूचना अधिकारी कट्टेलले बताउनुभयो । सुक्खा बन्दरगाहस्थित भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा. लालबहादुर खत्रीले व्यवसायीले आवश्यक प्रक्रिया पूरा नगरेकाले ९० कन्टेनर केराउ जाँचपास हुन नसकेको बताउँदै आवश्यक प्रक्रिया पूरा नभएसम्म जाँचपास नहुने जनाउनु भयो ।

व्यवसायीले उक्त केराउ क्यानडा र अमेरिकाबाट आयात गरेका हुन् । भन्सारका अधिकारीले उक्त केराउ विराटनगरका व्यवसायीले ल्याएको जनाएका छन् ।

भन्सार एजेन्ट पप्पु शर्माले भने क्लोजिङ भन्दै ३० र ३१ गते कार्यालयमा जाँचपासको काम नगरिएको साउन १ अनि २ गते सिस्टम अपडेट गर्ने भनेर जाँचपास गर्ने काम रोकियो अनि साउन ३ गते प्रक्रिया पुगेन भनेर जाँचपास नै नगरिएको दाबी गर्नुभयो ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिशिर घिमिरेले कोटा प्रणाली भए वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हेर्ने भन्दै त्यसबारे आफूलाई जानकारी नभएको बताउनुभयो ।