१३ बैशाख २०८१, बिहीबार

नेपाल समूह पनि विभाजित, को कता ?

madhav nepal

नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि विभाजित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएपछि नेपाल समूहका नेता दुई खेमामा विभाजित भएका हुन् । एक समूहका नेताले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएका छन् भने अर्को समूहका नेताले देउवालाई विश्वासको मत दिएर पार्टी फुटाउन नहुने बताएका छन् ।

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् । माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

उनले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । १० बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।’

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

यता नेतृ रामकुमारी झाँक्रीले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुपर्ने बताएकी छन् । उनले आफूहरूको प्रयास विपक्षमा बसेर भएपनि पार्टीले निर्णय गरेर विश्वासको मत दिनुपर्छ भन्ने रहेको बताइन । नेतृ झाँक्रीले ‘हंग पार्लियामेन्ट’मा कसैको पनि एकल बहुमत नपुग्ने अबस्था भएको र आगामी दिनका लागिसमेत अहिले विश्वासको मत दिने उनले बताइन् ।