१३ बैशाख २०८१, बिहीबार

ट्रक दुर्घटनामा दुईको निधन, पाँच घाइते

truck accident

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका– ५ ठिनीबाट ढुम्बातर्फ जांदै गरेको ग १ ख ६८५२ नम्बरको ट्रक दुर्घटनामा हुँदा दुई जनाको निधन हुनुका साथै पाँच जना घाइते भएका छन् ।

सदरमुकाम जोमसोमबाट ठिनी हुँदै ढुम्बातर्फ जाँदै गरेको ट्रक ठिनी खोलाको अस्थायी पुलमा आज बिहान दुर्घटना भएको थियो । ट्रक दुर्घटनामा परि गोकुलगंगा गाउँपालिका–१, रामेछापका का ३८ वर्षीय चित्रबहादुर श्रेष्ठ र २६ वर्षीय मनिका श्रेष्ठको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर आशिष अधिकारीले बताउनुभयो ।

इन्सपेक्टर अधिकारीका अनुसार ढोरपाटन नगरपालिका–५ बागलुङका २२ वर्षीय सुनिल घर्ति, २५ वर्षिय लुद्रबहादुर कामी, पर्वत जिल्लाको जलजला गाउँपालिका–४ का १८ वर्षीय दिनेश दर्जी, ओखलढुङ्गा जिल्लाको खिन्चीदेम्बा गाउँपालिका–७ का २९ वर्षीय दावा शेर्पा र नवलपरासीको त्रिवेणी गाउँपालिका–३ का शिवराम ठाडा घाइते भएका छन् । घाइते सबै जनाको जोमसोम अस्पतालमा उपचार भइरहेको छ ।