१६ चैत्र २०८०, शुक्रबार

मुलुकभरका स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको घटना कुनै नौलो होइन, औरहीको अनियमितता लुकाउन रजिष्टरमा दर्ता नम्बर नै खाली

1 1

सिरहा, सरकारको लगानी बालुवा खनियाए पानी जस्तो एक पालिकाले यस्तो कार्य गरेका छन । मुलुकभरका स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म डुबेको घटना कुनै नौलो होइन ।

अधिकांश स्थानीय तह जनताको सेवा गर्नुभन्दा पनि कसरी लुट्न सकिन्छ भन्नेतर्फ उन्मुख भएका पाइन्छन् । जताततै स्थानीय तहका जनप्रतिनिधिलगायत कर्मचारीहरूको मिलोमतोमा व्यापक भ्रष्टाचार हुने गरेका घटनाहरु सार्वजनिक भइरहन्छन् । यसैक्रममा सिरहा जिल्लाको औरही गाउँपालिकाले पनि पालिका सञ्चालनको क्रममा गर्ने गरेको अनियमितता लुकाउन ढाकछोप गर्न दर्ता रजिष्टरमा दर्ता नम्बर खाली ठाउँ छाडेर पछाडिको दर्ता नम्बरमा दर्ता गरेको पाइएको छ ।

गाउँपालिकामा हुने गरेको भ्रष्टाचार मिलाउनका लागि अगाडिको नम्बर दर्ता गर्न छाडेर पछाडिको नम्बरमा दर्ता गरेको तथ्य फेला परेको हो । गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय औरही पुगेका सञ्चारकर्मीहरुलाई आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालनमा रहेको बिकास निर्माणसम्बन्धी कुनै कागजात नरहेको कर्मचारीहरुले बताए । किन दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गरिएको हो? भन्नेबारे प्रश्न गर्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेनन् । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकीय अधिकृत राम नारायण साहसँग बुझ्न ९८५२८६०७८९ नम्बरमा सम्पर्क गर्न खोज्दा फोन उठेन ।

आर्थिक मसान्तको अन्तिममा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खाली ठाउँ राखेर दर्ता गर्ने गरिएको छ। यि त उदाहारणका पात्र मात्रै हुन्, यस्ता भ्रष्टाचार धन्दा धेरै हुने गरेको स्थानीयहरुको भनाइ छ। गाउँपालिकामा सञ्चालित थुप्रै विकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेबसाइटमा पनि राखिएको छैन। उक्त सूचनाहरू गाउँपालिकाको कार्यालयमा पनि नरहेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए ।

गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटक–पटक उजुरी परे पनि छानविन हुन नसकेको स्थानीयहरुको आरोप छ ।

    सम्बन्धित समाचार...