१३ बैशाख २०८१, बिहीबार

देउवा सरकारमा सहभागी हुने जसपा यादव पक्षको निर्ण

Upendra Baburam
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले वर्तमान देउवा सरकारमा जाने निर्णय गरेको छ ।

आज बसेको यादव पक्षको संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिनुभयो । यो सँगै भोलिको संसद बैठकमा सत्तापक्षको कुर्चिमा बस्ने उहाँको भनाइ छ ।

बैठकले आफ्ना सांसदहरुलाई काठमाडौंँ नछाड्न पनि निर्देशन दिएको छ ।

यसैबीच सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टी जसपाका सांसदले कित्ता परिवर्तन गर्न थालेका छन् ।

सत्ता समिकरणका कारण यसअघि दुई समूहमा विभाजन भएको जसपामा अहिले कित्ता परिवर्तन गर्ने होड नै चल्न थालेको छ । अध्यक्ष उपेन्द्र यादव पक्ष बलियो बन्दै गएको छ भने अध्यक्ष ठाकुर पक्ष कमजोर बनेको छ ।

यसअघि संसदीय दलमा मजवुत देखिएको ठाकुर पक्ष अहिले त्यहाँ पनि अल्पमतमा परेको छ । पछिल्लो पटक ठाकुर पक्षका पाँचजना सांसद यादव पक्षमा लागेका छन् । आज बसेको यादव पक्षको बैठकमा ठाकुर समूहका सांसद प्रमोद साह, रुही नाज, अमृता अग्रहरि नरमाया ढकाल र रानी मण्डल सहभागी हुनु भएको छ ।

जसपामा निलम्वित २ वाहेक ३२ जना सांसद छन् । यो सँगै यादव पक्षमा १७ जना सांसद पुगेका छन् । अझै केही सांसद ठाकुर समूह छाड्ने तयारीमा रहेको बुझिएको छ । नेता राजकिशोर यादवसहित रेणुका गुरुङ र कलुदेवी विश्वकर्मा पनि यादव समूहमा फर्कन वार्तामा रहेको स्रोतले जनाएको छ ।

यादव पक्ष सत्तामा जाने तयारी गरेसँगै ठाकुर समूहका सांसद कित्ता परिवर्तनमा सक्रिय भएका हुन् । सरकारमा सहभागी हुन ढिलाइ गरेको यादव पक्षले जतिसक्दो धेरै सांसद आफ्नो पक्षमा तान्न जोड गरिरहेको छ ।

केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहका २० जना सांसदले सहयोग गरेका थिए । तर अहिले उक्त संख्या १५ मा झरिसकेको छ । यादव पक्षले कम्तिमा २५ जना सांसद आफ्नो पक्षमा आउने दाबी गरेको छ ।