१६ चैत्र २०८०, शुक्रबार

कुर्था–जयनगर रेल सञ्चालनको लागि आइतबार अन्तिम परीक्षण गरिँदै

nepal railway 1

जनकपुर–जयनगर ब्रोडगेज रेल्वे सञ्चालनका लागि आइतबार गरिने अन्तिम परीक्षणको तयारी पुरा भएको छ ।

जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म भारतीय रेल्वेका चालक दल र अन्य प्राविधिकहरूले प्रतिघण्टा १ सय २० को गतिले रेल्वे लिकको भौतिक अवस्थाको परीक्षण गर्ने कार्यका लागि तयारी पुरा भएको नेपाल रेल विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जनकपुरधामको कुर्था रेल्वे स्टेसनदेखि भारतको जयनगरसम्म रेल लिकको परीक्षण हुने भएकाले आइतबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रेल्वे लिकमा आवतजावत नगर्न सर्वसाधारणमा रेल विभागले आग्रह गरेको छ ।

निर्माण भएको रेल्वे लिकको विगत दुई/तीन दिनदेखि नै क्याम्पिङ मेसिनद्वारा सरसफाइ गर्ने काम भएको र आइतबार बिहान १० बजे देखि ४ बजेसम्म ठाउँ ठाउँमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् रेल्वेका कर्मचारी परिचालन गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

भारतीय रेल विभागका कर्मचारीहरूले नव निर्मित संरचनाहरूमा १ सय २० प्रति घण्टाको दरले रेल गुडाएर परीक्षण गरेपछि नेपाल सरकारले खरिद गरेको दुई वटा रेल सञ्चालन गर्नका लागि अनुमति दिने भएको छ ।

परीक्षणका क्रममा रेल्वेको लिकमा कमी कमजोरी पाइएको खण्डमा परीक्षणपछि पुनः सच्याइने र कमी कमजोरी नभएको खण्डमा भारतीय रेल्वेले नेपालमा रेल सञ्चालनका लागि प्रमाणपत्र प्रदान गर्ने छ । प्रमाण पत्र पाएसँगै नेपालको रेल नियमित रुपमा सञ्चालन गर्न मिल्ने पनि रेल्वे विभागले जनाएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा भारतको जयनगरदेखि जनकपुरधाम उपमहानगरपालिकाको कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालनका लागि सबै पूर्वाधारहरूको तयारी भएको छ ।

भारत सरकारको सहयोगमा करिब रु. १० अर्बको लागतमा रेलको भौतिक संरचनाको निर्माण, विकास एवं विस्तार गर्ने काम भएको छ ।

नेपाल सरकारले रेल सञ्चालन गर्नका लागि गत वर्ष नै नेपालको झन्डा तथा सोही रङ्गको दुई वटा इन्जिन सहितको यात्री डब्बा खरिद गरेर ल्याइसकेको छ ।