६ बैशाख २०८१, बिहीबार

सडक र वस्तीभन्दा दुई मिटर अग्लो पुल निर्माण

pull 1 696x313 1

कैलालीमा हुलाकी राजमार्गअन्तर्गत कैलारी गाउँपालिकाको पवेरा नालामा सडक र वस्तीभन्दा अग्लो पुल निर्माण गरिएको छ । यसरी अस्वभाविक उचाइमा पुल निर्माण गरिएपछि आवतजावतमा समस्या भएको छ । कालोपत्रे गरिएको सडकभन्दा करिब दुई मिटर उचाइमा पुल बनेपछि स्थानीयलाई पुलमा आउजाउ गर्न समस्या भएको छ । डल्लप, साइकिललगायत सामान बोकेका सवारी साधन पुल चढ्न नसकेर नालाबाट जाने गरेका छन् ।

बाटोभन्दा अस्वभाविक उचाइमा बनेकाले पुल प्रयोग गर्न समस्या भएको स्थानीयले बताएका छन् । छेउमै रहेका घरका छतभन्दा अग्लो पुल बनेको स्थानीयबासिन्दा रामु चौधरीले बताए । सडकभन्दा अग्लो पुलमा आवतजावत गर्न पनि समस्या हुने गरेको उनले बताए । चौधरीले पुल अग्लो बन्दा डल्लव चलाउन पनि अफ्ठेरो हुने बताए ।

‘पुल बनेपछि सुविधा होला सोँचेका थियौं तर झन असुविधा थपियो ।’ उनले भने, ‘जनताले सुविधाको सट्टा अफ्ठेरो भोग्नुपर्ने सरकारले कस्तो खालको विकास गरेको हो ?’ कालोपत्रे गरिएको सडकभन्दा दुई मिटर उचाइमा बनेको पुललाई प्रयोगमा ल्याउन पुलको दुवैतिर करिब सय मिटर बाटोको उचाइ पनि उठाउनु पर्ने देखिएको छ । यसले पुलको छेउमा रहेको पवेरा मण्डी बजार र बस्तीलाई पनि समस्या हुने स्थानीयले बताएका छन् ।

पुलले नजिकको बजार र बस्ती ओझेलमा पर्ने अर्का स्थानीय तेजराम चौधरीले बताए । आँगनभन्दा बाटो निकै अग्लो हुने भएपछि समस्या हुने उनको भनाइ छ । उकालो हुने भएकाले आँगनअघिकै बाटोमा पुग्न घुमेर जानुपर्ने अवस्था हुने उनले बताए । पुल निर्माणका लागि २०७० जेठमै सम्झौता भएको थियो । तर बस्तीभन्दा अस्वभाविक उचाइमा पुल बन्न थालेपछि स्थानीयले विरोध गर्दा केही वर्ष पुल निर्माणको काम अलपत्र प-यो ।

वर्षौंसम्म अलपत्र रहेको आयोजना हुलाकी सडकले खारेज गर्ने तयारी गरेपछि वर्षायाममा खोला तर्न सास्ती व्यहोर्दै आएका स्थानीय डिजाइनअनुसारकै उचाइमा पुल निर्माण हुन दिन सहमत भएका हुन् । तर, बनेको पुलले झन समस्या निम्तिएको स्थानीयको गुनासो छ । २२ मिटर लामो उक्त पुल भ्याटबाहेक १ करो १६ लाखमा निर्माण भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।

खोलाको सहतदेखि पुलको उचाइ ५ मिटर रहेको छ । डिजाइनमा त्रुटि भएकाले बाटोभन्दा अस्वभाविक उचाइमा पुल बनेको आयोजनाका इन्जिनियर पदम मडैले बताए । पुल वारीपारीको सडक पनि उँचो बनाउनु पर्ने भएपछि पुल छेउको बजार र बस्तीलाई समस्या हुने उनले बताए ।

‘त्यहाँ बढीमा ३ मिटर उचाइको पुल आवश्यक थियो ।’ मडैले भने, ‘आवश्यकताभन्दा अग्लो बन्दा दुवैतिर १–१ सय मिटर परसम्म बाटो पनि अग्लो बनाउनु पर्ने भयो ।’ हुलाकी राजमार्ग निर्माण गरेको भारतीय कम्पनीले पनि कल्भर्ट बनाउन सर्भे पनि गरेको थियो । तर, त्यसबेला स्थानीयले पुल बनाउनु पर्ने माग गरेका थिए । पुलको डिजाइन र निर्माण ठेक्का भने केन्द्रबाटै भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।