१३ बैशाख २०८१, बिहीबार

महिलालाई बलात्कार गरेको आरोपमा दुई ट्रक चालक पक्राउ

rape arrest

लिफ्ट दिने नाममा महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

घटनामा संलग्न भएको आरोप लागेका दुई जनाको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्ज–२१ बस्ने सुनील महतो र पोखरिया नगरापलिका– ६ बस्ने २५ वर्षीय शिवबालक महतो पक्राउ परेका हुन् । दुबै ट्रक चालक हुन् । उनीहरुविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

पीडित महिला १९ वर्षकी रुकुमकी हुन । उनले प्रहरीलाई बताएअनुसार असार २७ गते बिहान दुई वर्षको छोरासहित बुटवल जाने काठमाडौंको कलङ्की चोकमा सार्वजनिक सवारी साधन कुरी बसिरहेकी थिइन् । ना.५.ख.२८७० नम्बरको ट्रकका चालक सुनिलले ‘नारायणगढसम्म पुर्‍याइदिन्छु’ भनी ट्रकमा चढाए । पहिरो गई बाटो अवरूद्ध भएकाले जाममा परे । जाममै रात काट्नुपर्ने भयो । त्यही बेला सुनिलले ट्रकको क्याबिनमा नै बलात्कार गरेको पीडिते बताएकी छन् ।

असार २८ गते जाम खुलेपछि चितवनको रामनगरसम्म ल्याए र असार २९ गते दिउँसो १ बजेतिर ना.६ ख.३३६९ नम्बरको ट्रकमा चढाईदिए । ट्रक चालक शिवबालकले ‘बुटवल जाने हो’ भनेर महतोले ट्रकमा वीरगञ्जतर्फ ल्याए । त्यसक्रममा बाराको जंगलमा ट्रकभित्र बलात्कार गरेको पीडित महिलाको बयान छ । ३० गते विहान शिवबालकले सहचालक पोखरिया– ६ मै बस्ने २७ वर्षीय का इन्दल चौहानलाई गाडी चलाई ड्राइपोर्टसम्म पुर्‍याउन भनेका थिए । सहचालक इन्दल चौहान र ट्रकमा रहेका भोला नाम गरेका व्यक्तिले पनि ड्राइपोर्ट–परवानीपुर सडकखण्डको बीचतिर गाडी रोकेर बलात्कार गरेको पीडित महिलाले बताएकी छन् ।

उनलाई ड्राइपोर्ट क्षेत्रबाट ३० गते साँझ ५ बजे प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको टोलीले उद्धार गरेको थियो । उनले दिएको बयानका आधारमा प्रहरीले सुनिल र शिवबालकलाई नियन्त्रणमा लिएको छ । घटनामा सलंग्न भनिएका अन्य २ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।