१२ बैशाख २०८१, बुधबार

राष्ट्रियसभामा अर्थमन्त्री खतिवडासहित १८ जना सांसदको कार्यकाल सकियो को–को हुँदैछन् बिदा ? (नामसहित)

National Assembly Nepal

राष्ट्रियसभाको दुईवर्षको कार्यकाल पूरा गरेर १८ जना राष्ट्रियसभाका सांसदहरु बिदा हुँदैछन् ।

अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । खतिवडासहित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कांग्रेस, राजपा र समाजवादी दलका गरी १८ जना सांसदको पदावधि सकिँदैछ ।

खतिवडा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए । यद्यपी अर्थमन्त्री खतिवडाको पदावधि थप्ने सरकारको तयारी छ ।

उनी मंगलबारदेखि सांसद नभइ मन्त्रीमात्रै रहनेछन् । सांसद नहुँदा पनि ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनी राष्ट्रपतिले मनोनित गर्ने सिटमा सांसद भएका हुन् ।

कार्यकाल सकिनेहरुमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ ।

डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन । वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् ।

राष्ट्रियसभाको बैठक दुई बजे बस्दैछ । त्यसअघि आज बिदा हुने सांसदहरुको सामूहिक तस्बिर खिच्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । नयाँ निर्वा्चित सांसदहरुको भने बुधबार ११ बजे सपथग्रहण हुने भएको छ ।