१५ चैत्र २०८०, बिहीबार

आजबाट ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिक प्रयोग र उत्पादन गर्न नपाइने

plastic

सरकारले आजबाट ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला बिक्रीमा प्रतिबन्ध लगाएको छ । वातावरण जोगाउन भन्दै सरकारले ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा रोक लगाएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले यो कार्यक्रम अगाडि सारेको हो । प्लास्टिकको सट्टा कागज, कपडा र जुटको झोला प्रयोगमा ल्याउन आग्रह गरिएको छ ।

४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला उत्पादन गर्ने उद्योगले आफूलाई अन्य उत्पादनमा रूपान्तरण गरे सरकारले पुँजीगत अनुदान दिने जनाइएको छ । तर, यस्ता उद्योगले अटेर गरी प्लास्टिकका झोला उत्पादन नरोके कारबाही तथा जरिबाना गर्ने सरकारको तयारी छ । वातावरणमा नकारात्मक असर कम गर्ने उद्देश्यले सरकारले नयाँ नियम लागु गरेको वातावरण विभागले जनाएको छ । “आजबाट ४० माइक्रोनभन्दा कमका प्लास्टिकका झोला उत्पादन गर्न पाइँदैन । आयात र निर्यात गर्न पनि पाइँदैन । यदि, कसैले सरकारी निर्देशन अवज्ञा गर्दै उत्पादन तथा आयात–निर्यात गरेको पाइयो भने हामी कारबाही गर्नेछौँ,” विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीले भने ।

कारबाही गर्ने अधिकार विभागसँग नभए पनि उसकै सिफारिसमा मन्त्रालयले कारबाही गर्ने जोशी बताउँछन् ।

    सम्बन्धित समाचार...