१२ बैशाख २०८१, बुधबार

नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता

RoS KTM CovidMeetingPMDeuba

प्रधानमन्त्री शेरबहादुर देउवाले आम नागरिकको जीवन रक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशन समितिको बुधबार बसेको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले कोभिड–१९ विरुद्धको लडाइँमा नागरिकको जीवन रक्षाका लागि बजेटको व्यवस्था र खोप उपलब्ध गराउन सरकारले प्राथमिकतासाथ काम गर्ने बताउनुभयो । बैठकमा प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धका गतिविधि, सरकारको प्राथमिकताबारेमा दिनुभएको निर्देशनबारे गृहमन्त्री बालकृष्ण खाँणले सो जानकारी दिनुभएको हो ।

यसैबीच निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लाग्दै गएको छ । पछिल्लो समय सामाजिक दूरी तथा जनस्वास्थ्य पालनामा कमी आएको छ । राजनीतिक दल वा नागरिक समाजका नाममासमेत बिनामास्क, जनस्वास्थ्यका मापदण्डबिनै धर्ना, जुलुस भइरहेका छन् । केही दिन अघिसम्म सङ्क्रमण दर घटे पनि सङ्क्रमण फेरि बढ्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९०५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सात लाख छ हजार ७६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये छ लाख २४ हजार ७११ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको सङ्ख्या एक हजार ६०६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आठ हजार १०८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १० जनामा कोरोना पुष्टि भएको छ । यस्तै चार हजार ९१६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा कोरोना पुष्टि भएको छ । सहप्रवक्ता डा. अधिकारीले थप १८ जना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।

योसहित नेपालमा कोरोनाबाट हालसम्म नौ हजार ४३० जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार ६४८ रहेको छ । हाल २४ हजार ९९ जना होम आइसोलेसनमा र दुई हजार ५४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२५ जना सङ्क्रमित भेटिएका छन् ।