१६ चैत्र २०८०, शुक्रबार

सरकारमा सहभागी नहुने, विश्वासको मत दिने जनमोर्चाको निर्णय

chitra bahadur kc
फाइल फोटो

राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको हो। जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बाहिरैबाट देउवा सरकारलाई समर्थन रहने बताइन्। ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ,’ पौडेलले भनिन्, ‘तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ।’

प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ।

प्रतिनिधि सभामा जनमोर्चाबाट पौडेल मात्रै सांसद छिन्। ५ दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो। पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए।

‘सरकारलाई विश्वासको मत दिने र गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने निर्णय पार्टीको बुधबार बसेको बैठकले गरेको छ,’ उनले भनिन्।

जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ केपी शर्मा ओलीको प्रतिगमन परास्त भइसकेपछि गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई हाम्रो दलले समर्थन गर्दछ। देउवाले संसदबाट लिने विश्वासको मतको पक्षमा समेत मतदान गर्ने निर्णय भएको छ। देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने हाम्रो नीति भएता पनि सरकारमा सहभागी नहुने तथा सरकार बाहिर रहेर गुण र दोषको आधारमा सरकारलाई समर्थन वा विरोध गर्ने नीति रहने छ।’