१२ बैशाख २०८१, बुधबार

प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्छ : नेता केसी

Arjun

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्ने बताउनुभएको छ । मापदण्डविपरीत क्रियाशील सदस्यता वितरण गरिएको आरोप लगाउँदै काँग्रेस केन्द्रीय कार्यालयमा चार दिनदेखि धर्नामा बसेका नेता तथा कार्यकर्तालाई आज भेटेर उहाँले पार्टीले तय गरेको प्रक्रियाविपरीत वितरण गरिएका क्रियाशील सदस्यता खारेज हुनुपर्नेमा जोड दिनुभयो ।

“प्रक्रियाविपरीत दिइएका क्रियाशील सदस्यतालाई १५औँ महाधिवेशनमा सम्बोधन गर्नेगरी अहिले १३औँ महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अगाडि बढ्नुपर्छ”, नेता केसीले भन्नुभयो । पार्टीका पूर्वसांसद रामअयोध्या यादवको नेतृत्वमा छ बुँदे माग राखेर चार दिनदेखि बाराका नेता तथा कार्यकर्ता धर्नामा बस्नुभएको छ ।

उहाँहरुले पार्टीमा छलफल नै नगरी दर्ता गरिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, पुरानो क्रियाशील सदस्यतालाई नवीकरण गर्नुपर्ने, विधानअनुसार नयाँ क्रियाशील सदस्यता तत्काल वितरण गर्नुपर्ने, वडा समितिको सिफारिसविना दिइएका क्रियाशील सदस्यता खारेज गर्नुपर्नेलगायतका माग राख्नुभएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा रहेको सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिले काम गरिरहेको अवस्थामा उहाँहरु धर्नामा बस्नुभएको हो । काँग्रेसको आगामी महाधिवेशनका लागि आठ लाख ५० हजार सदस्यता पार्टी केन्द्रीय कार्यालयको वेबसाइटमा दर्ता भइसकेका छन् । काँग्रेसको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म हुँदैछ ।