८ बैशाख २०८१, शनिबार

छोरी जन्मेको भन्दै आफ्नै आमाले गरिन् ब्ल्याङ्केटले घाँटी थिची हत्या

Shisu news

बिराटनगरमा नवजात शिशुको हत्या भएको छ। जन्मिएको बच्चा छोरी भएकाले भन्दै परिवारै मिलेर हत्या गरिएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा आमासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको हो ।

छोरी जन्मिएपछि जन्मनेवितिकै हत्या गरिएको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु उपर कर्तव्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएको छ ।