१३ बैशाख २०८१, बिहीबार

उज्यालो नेपालका अभियन्तालाई अर्थ मन्त्रालयको जिम्मा

mantri sapath deuwa pm

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा शर्मा राजनीतिक जीवनमा चौथो पटक मन्त्रीको रुपमा नियुक्त हुनुभएको हो ।

यसअघि, विसं २०६५ मा शान्ति ताथ पुनःनिर्माण मन्त्री, विसं २०७३ मा ऊर्जा मन्त्री र विसं २०७४ मा गृहमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएका शर्माले अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न लाग्नुभएको छ । ऊर्जा मन्त्रीको रुपमा उहाँको कार्यकाल स्मरणयोग्य रहेको छ । चर्को विद्युत्भार कटौतीको मारमा परेका नेपाली जनतालाई त्यसबाट मुक्त गराउन प्रभावकारी कदम चाल्नुभएको थियो । तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा डेपुटी कमाण्डर रहनुभएका शर्माको कार्ययोजनामा नै मुलुकले १६ घण्टासम्मको विद्युत्भार कटौतीबाट मुक्ति पाएको थियो । उज्यालो नेपाल निर्माणको श्रेय पाउनुभएका शर्मा प्रभावशाली नेता हुनुहुन्छ ।

मुसिकोट नगरपालिका–५ रुकुम पश्चिममा विसं २०२० वैशाख २६ गते बुबा इस्केन्द्र शर्मा र आमा नर्मदा शर्माको सुपुत्रका रुपमा जन्मनुभएका शर्माको विशेष रुचीको क्षेत्र साहित्य र कृषि हो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी) केन्द्रका तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा २०६४ र २०७४ मा सदस्यका रुमपा निर्वाचित शर्मा लोकप्रिय नेताका रुपमा परिचित हुनुहुन्छ । राजनीतिमा आउनुअघि कृषि अनुसन्धान केन्द्रमा पाँच वर्ष सेवा गर्नुभएका शर्माले जनसेवाश्री र संविधनसभा पदक प्राप्त गर्नुभएको छ ।