८ बैशाख २०८१, शनिबार

निकुञ्जभित्र चेपाङमाथि कुटपिट गर्ने सैनिकलाई जम्मा ९ महिना कैद फैसला

rajkumar Chepang

चितवनको राप्ती २ का राजकुमार चेपाङको मृत्यु भएको घटनामा चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाका चिरणकुमार बुढालाई दोषी ठहर गर्दै जिल्ला अदालत चितवनले नौ महिना कैद हुने फैसला गरेको छ ।

न्यायाधीश गायत्री रेग्मीको इजलासले आंशिक अभियोग दावी पुग्ने भन्दै आरोपित बुढालाई नौ महिना कैद, ९ हजार जरिवाना र २ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।

मृतक चेपाङ सहित सात जना स्थानीय निकुञ्ज क्षेत्रमा गत साउन १ गते निगुरो र घुँगी खोज्न गएको अवस्थामा निकुञ्जका सुरक्षाकर्मीले नियन्त्रणमा लिई कुटपिट गरेका थिए। सेनाले निकुञ्जमा प्रवेश गरेका सात जनामध्ये दुई महिला बाहेक पाँच जना पुरुषहरूलाई कुटपिट गर्नुका साथै यातना दिएको र महिलाहरूलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको पीडितले जानकारी दिएका थिए । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका बुढाको कुटपिट तथा यातनाका कारण राजकुमारको साउन ८ गते मृत्यु भएको थियो।

हुद्दा दर्जामा कार्यरत नेपाली सेनाका कर्मचारी चिरणकुमार बुढाविरूद्ध मृतक राजकुमारका बुबा विष्णुलाल चेपाङले ०७७ भदौ २५ गते किटानी जाहेरी दिएका हुन् ।

परिवारले दिएको घटनासम्बन्धी जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय चितवनले साउन ११ गते दर्ता गरेको थियोे । मृतक राजकुमार चेपाङको बुबाले नामै किटेर जाहेरी दिएपछि प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको थियो । मुद्दाका आरोपित बुढालाई प्रहरीले असोज १२ गते गिरफ्तार गरेको थियो।

मृतकको परिवारलाई चितवन राष्ट्रिय निकुञ्जले ७ लाख, राप्ती नगरपालिकाले ३ लाख रुपैयाँ राहत उपलब्ध गराएका थिए।