१५ चैत्र २०८०, बिहीबार

भारतीयलाई नागरिकता दिएको अभियोगमा गैडाकोटका वडाध्यक्षसहित आठ जना पक्राउ

Citizenship

भारतीय नागरिकलाई नक्कली नागरिकता बनाइदिएको अभियोगमा नवलपुरको गैंडाकोट नगरपालिका ६ का वडाध्यक्ष लक्ष्मीप्रसाद सापकोटासहित आठ जना पक्राउ परेका छन् । भारतीय नागरिक जमिर देवनलाई गैंडाकोट–६ का स्थानीय जमिर मिया भएको प्रमाणित गर्दै नागरिकता शिफारिस गरेको अभियोगमा वडाध्यक्ष पक्राउ परेका हुन् ।

सिफारिसको आधारमा नागरिकता बनाइदिएको अभियोगमा वडाध्यक्षसापकोटासहित आठ जनालाई इलाका प्रहरी कार्यालय गैंडाकोटले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष सापकोटासहित भारतीय नागरिक ३३ वर्षीय जमिर देवन, नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाँ, वडा सदस्य पवित्रा सापकोटा र चार जना साक्षीहरु रहेको प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताईन् ।

नगरप्रमुख छत्रराज पौडेलका अनुसार नक्कली नागरिकता बनाउन शिफारिस गरेको थाहा पाएलगत्तै जानकारी गराउन जिलला प्रशासन कार्यालय पुगेका वडाध्यक्ष पक्राउ परेका हुन् । उनले थाहै नपाइ नागरिकताका लागि शिफारिस गरेछन्, भारतीय नागरिक हुन् भन्ने जानकारी भएपछि जिल्ला प्रशासनमा जानकारी गराउन जाँदा नियन्त्रणमा लिइएको जानकारी पाएको छु’ नगरप्रमुख पौडेलले भने ।

वडाध्यक्ष सापकोटाले १ चैत, २०७७ मा वंशजका आधारमा नागरिकता बनाउन सिफारिस बनाइदिएका थिए । नक्कली बाबु बनेका ५२ वर्षीय सफी अल्ला मियाले भने अर्घाखाँचीबाट नागरिकता लिएको पाइएको छ । भारतीय नागरिक देवनलाई छोरा दावी गर्दै उनले नागरिकताको सिफारिस बनाएर नागरिकता दिलाएका थिए ।