१२ बैशाख २०८१, बुधबार

पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनले देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय

bipakshi gathabandan neta

पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले गठबन्धन सरकार बनाउने निर्णय गरेको जसपा नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।

‘सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको छ । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाजीको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने छलफल भएको छ’, भट्टराईले भने ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको गठबन्धनको बैठकले प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने निर्णय गरेको हो । ‘प्रारम्भमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने, गठबन्धनमा रहेका दलहरुबीच थप समिक्षा गरेर जाने, सहकार्य अझ बलियो बनाउने निर्णय भएको छ’, बैठकपछि कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

बैठकपछि बाहिरिदै माओवादी केन्द्रका नेता देव गुरुङले पावर सेयरिङबारे छलफल सुरु भएको बताए । ‘यो प्रक्रियामा सहभागि सबैलाई समेटेर अधिकतम सहमति कायम गरेर अगाडि बढ्ने कुरा भएको छ । पावर सेयरिङबारे शीर्ष नेताहरुबीच अझ छलफल हुनेछ’, गुरुङले भने ।