१३ बैशाख २०८१, बिहीबार

सर्वोच्चमा जसपा खारेजीको मुद्दा

jasapa

जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता सम्बन्धी विवादको सुनवाई निर्वाचन आयोगमा भाइरहेको बेला दल नै खारेजीको मागगर्दै सर्वोच्च अदालतमा आइतवार मुद्दा दर्ता गरिएकोछ ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो समुहका दुई जना युवाले सघीय समाजवादी फोरम र लोकतान्त्रिक समाजवादी पार्टी नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । अजय झा र ज्ञानेन्द्र झाले दल दर्ताका लागि निवेदन दर्ता गरिरहेकै बेला सर्वोच्च अदालतमा जसपा बदरका लागि ह्रदयराज मिश्रले मुद्दा दर्ता गरे । जसपाको आधिकारिकताका लागि सशक्त दावी गर्ने अधार नभएको निष्कर्षमा पुगेका ठाकुर–महतो समुहले दल नै बदरका लागि मुद्दालाई सहारा लिएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपालबीचको एकीकरण वैधानिक नरहेको भन्दै तत्कालीन राजपाका उपाध्यक्षसमेत रहेका अधिवक्ता राजकुमार थापाको तर्फबाट वारेस रहेका अधिवक्ता हृदयराज मिश्रले रिट दायर गरेका हुन्।

निर्वाचन आयोग, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल र जनता समाजवादी पार्टी (जसपा) लाई विपक्षी बनाएर उनीहरूले रिट दायर गरेका छन्। रिटमा भनिएको छ , ‘जनता समाजवादी पार्टी एकीकरण गर्दा राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा दलहरू एकीकरण हुन ऐनको दफा १० का सम्पूर्ण प्रावधान पूरा गर्नुपर्नेमा नेपालको संविधानको धारा २६९ तथा राजनैतिक दलसम्बन्धी ऐनको प्रावधान अपूरो राखी निर्वाचन आयोगको दल दर्ता किताबमा दर्ता नम्बर १५९ मा अभिलेखीकरण भएको जनता समाजवादी पार्टीले एकीकरणअघिको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको निर्णय र आपसी सम्झौता पत्र सहित राजनैतिक दल एकीकरण गर्नुपर्नेमा सो नगरेकोले प्रथम दृष्टिमै आयोगमा दर्ता भएको निवेदन त्रुटिपूर्ण देखिन्छ ।’ रिटमा अन्तरिम आदेश समेत माग गरिएको छ ।