१२ बैशाख २०८१, बुधबार

कोरोना खोप माग्दै शिक्षकहरु धर्नामा

sikchak andolan 750x375 1

कोरोनाविरुद्धको खोप दिनुपर्ने लगायतका माग राख्दै नेपाल शिक्षक महासंघ धनुषा आन्दोलन सुरु गरेको छ ।

महासंघको आयोजनामा शुक्रवार शिक्षकहरु जनकपुरधामस्थित शिक्षा समन्वय कार्यालयमा टेन्ट लगाएर विहान १० बजेदेखि दिउँसो १ बजेसम्म तीन घण्टा धर्ना बसे । सबभन्दा बढी जोखिममा शिक्षकहरु रहेको भन्दै कोरोना विरुद्धको खोप लगाइदिन उनीहरु सरकारसँग माग गरेका छन् । महासंघ धनुषा अध्यक्ष रामस्नेही यादवले भने, ‘ कोरोनाबाट धेरै शिक्षकको निधन भइरहेको छ । तर पनि सरकार गम्भिर देखिएको छैन । तत्कालै शिक्षकहरुलाई कोरोना खोप लगाउन हाम्रो माग छ ।’ उनले भने, ‘हामी शिक्षकसँगै जहिल्यै विभेद भइरहेको छ । त्यसैले आन्दोलन गर्न बाध्य भएका छौं ।’ उनले सरकारले विगतमा गरेको ३० बुँदै सम्झौता कार्यान्वयण गर्नुपर्ने माग पनि आफूहरुको रहेको बताए । सरकारले स्वयंमसेविका र विद्यालयका कर्मचारीको तलब बढाएपनि कार्यान्वयण नभएको गुनासो गरे । ‘संघीय सरकारले ८ हजार र बाँकी स्थानीय तहले दिने भनिएको छ’, उनले भने, ‘तर धेरै स्थानीय तहले सरकारले भनेअनुसार तलब उपलब्ध गराउन मानिरहेको छैन । अधिकांश स्थानीय तहले आवश्यक बजेट नै विनियोजन गरेको छैन ।’

पुराना शिक्षक ऐन संशोधन, तलब भत्ता र ग्रेड बृद्धि, दरबन्दी मिलान लगायतका सरकारले विगतमा गरेको ३० बुँदे सम्झौता कार्यान्वयण गर्नुपर्ने माग पनि शिक्षकहरुको रहेको छ ।