१६ चैत्र २०८०, शुक्रबार

‘तरकारी किन्नै नसकिने भयो’

tarkari bazar

आम्दानी बढेको छैन । खर्च बढेको बढ्यै छ । हुनेखानेले जति महँगो भए पनि किनेर खान्छन् । न्यून आम्दानी हुनेलाई दुई छाक तरकारी खान पनि रहर छ । यो भनाइ कङ्लकीको चोकमा बसेर सडकमै कपडा बिक्री गर्ने विष्णुमाया थापाको हो ।

कोरोनाले पसल नै चलेको छैन, चार जनाको परिवारलाई दालभात दुई छाक खान पनि गाह्रो भएको बताउँदै उहाँले भन्नुभयो, “एक केजीको एक सय रुपियाँ कमको कुनै तरकारी छैन, आम्दानी नहुनेले कसरी खान सक्नु ? तरकारी एक छाक मात्रै खान थालेको एक साता भयो । ” पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो ।

चार जनाको परिवारलाई डेढ सय रुपियाँको तरकारीले एक छाक टार्न गाह्रो हुन थालेको छ । तरकारीबाहेक मरमसला, नुन तेलसमेत गर्दा एक छाक तरकारीको १८० रुपियाँ परेको अनुभव कीर्तिपुर निवासी रमिला आचार्यको छ । पहिले दुई÷तीन थरी तरकारी र अचार हुने रमिलाको भान्सामा अचेल एक थरी मात्रै तरकारी पाक्छ ।

कीर्तिपुर चोकमै तरकारी भाउ बुझिरहनुभएका कमल सुवेदीले अब तरकारी किनेर खान सोच्नुपर्ने दिन आउन थालेको अनुभव सुनाउनुभयो । उहाँले तरकारी खान नसक्ने भएपछि यसको विकल्पमा गेडागुडीको टुसा उमारेर खाने सोच बनाएको बताउनुभयो । सुवेदीले तरकारीको भाउ छोइसक्नु छैन । निषेधाज्ञा खुलेपछि तरकारीको भाउ घट्ने आशा थियो तर झन् महँगियो भन्नुभयो ।

प्रायः तरकारी महँगो

बजारमा प्रायः सबै खालका तरकारीको भाउ बढेको छ । अघिल्ला दुई साता प्रतिकिलो औसत मूल्य ३० देखि ३५ रुपियाँमा थोकमा किनबेच भएको आलु अहिले थोकमै ५० देखि ५५ रुपियाँ पुगेको छ । १५ दिन अगाडिसम्म प्रतिकेजी २०देखि २५ रुपियाँसम्ममा पाइने ठूूलो गोलभेँडा थोकमै ७० रुपियाँसम्म पुगेको छ । यस्तै बन्दा, बोडी, भन्टा लाम्चो, घिउ सिमी, तितेकरेला, लौका, परबर, लौका, घिरौँला, भिण्डीलगायत सम्पूर्ण हरियो सागपातको पनि यसैगरी भाउ बढेको छ । खुद्रामा त तरकारीको भाउ झन् छोइनसक्नु भएको छ । लगातारको वर्षाले सडक अवरुद्ध हुँदा किसानबाट खरिद गरेका तरकारी बाटोमै कुहिएका छन्, जसको असर बजारमा परेको व्यापारी बताउँछन् ।

कालीमाटी तरकारी व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले मुग्लिङ–नारायणगढ सडक सहज नहुँदासम्म तरकारी भाउ सामान्य हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “कालीमाटीको झन्डै आधा तरकारी आउने नाका नारायणगढ–मुुग्लिङ सडक खण्ड अवरुद्ध छ, त्यसले गर्दा उपत्यकाको बजारमा तरकारी आपूर्ति नै कम भएको छ । आएको पनि पानीले गर्दा आधा कुहिएर फाल्नुपर्छ, अहिलेको महँगी स्वभाविक हो । व्यापारीलाई झन् धेरै नोक्सान छ । ” निषेधाज्ञा खुलेपछि बाढी र पहिरोका कारण बजारमा ल्याउन तयारी भएको धेरै तरकारी नोक्सानी भएकाले पनि भाउ महँगो भएको हुनसक्ने कालीमाटी बजारका अर्का तरकारी व्यापारी विकास बस्नेतले बताउनुभयो ।

उत्पादन र आयात दुवैमा कमी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरकारीको मागअनुसार सहज आपूर्ति नभएकाले पनि भाउ महँगो भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिका अनुसार कालीमाटीमा सामान्य अवस्था दैनिक नौ सयदेखि एक हजार मेट्रिक टन तरकारी आपूर्ति हुने गरेकामा अहिले छ सय मेट्रिक टनको हाराहारीमा मात्रै तरकारी भित्रिने गरेको छ । समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले वर्षाका कारण उत्पादक किसानले उत्पादन गरेका तरकारी नै बजारमा आउन नपाउँदा र आएका कुहिने हुँदा बजारमा तरकारी महँगो भएको बताउनुुभयो ।

उपभोक्ता अधिकारकर्मीले बाढीपहिरो तथा कोरोना तरकारीको भाउ बढ्नुमा जिम्मेवार मानिए पनि केही हदसम्म बिचौलिया हाबी हुनु सधैँको समस्या भएको बताउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले तरकारीको कारोबारमा बिचौलिया व्यापारीको बढी चलखेल हुने हुँदासमेत नियमनकारी निकाय मौन रहने गरेकाले सामान्य समस्यामा पनि तरकारीको भाउ उच्च हुने गरेको आरोप लगाउनुभयो ।

तरकारी अनुुगमनको तयारी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तरकारी आपूर्तिमा समस्या भएर हो वा अन्य कारणले महँगो भएको हो भन्ने विषयमा अनुुगमन गरिने जनाएको छ । विभागका निर्देशक शिवराज सेढाईंले तरकारी महँगो भएको गुनासो आउने क्रम बढेकाले आइतबार सोमबार नै तरकारीको मूल्य अनुुगमन गरिने जानकारी दिनुुभयो ।