७ बैशाख २०८१, शुक्रबार

राजपा दल दर्ता, अध्यक्षमा यादव

jasapa
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको कानुनी प्रकृयामा रहेको बेला महन्थ ठाकुर–राजेन्द्र महतो समुहको चाहनामा पानी फेरिएको छ । जसपामा दावी गरेपनि आधिकारिकता पाउने संभावना नरहेकोमा विश्वस्त भइसकेका ठाकुर समुहले राष्ट्रिय जनता पार्टी(राजपा) लाई पूनःदर्ता गर्ने तयारीमा थिए । तर त्यो दल शुक्रवार अर्कै समुहले दर्ता गराएको छ ।

निर्वाचन आयोगमा राजपा पार्टी दर्ताका लागि आवदेन आएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ घर भै हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ बस्ने हरीनारायण यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा शुक्रवार आवेदन दर्ता गराएका छन् । यादव अध्यक्ष रहेको सो दलको तीन सदस्यीय कार्यकारिणी समिति र २१ सदस्यीय केन्द्रिय समिति बनाइएकोछ । हाल कार्यकारिणी समितिले नै पार्टीको आधिकारीक निकाय हुने र सम्पूर्ण कार्य गर्ने विधानमा उल्लेख गरिएकोछ । कार्यकारिणी समितिमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ कै बजरंग कुमार यादव सदस्य र धनुषा जिल्लाको मिथिला नगरपालिकाको वडा नम्बर ६ का चन्देश्वर महतो सदस्य रहेका छन् । दलको चुनाव चिन्हका लागि पञ्जा छाप र बिकल्पमा हातमा लिएको मसाल छाप दिएको महतोले जनाए । उनले युवाहरुको ताकतलाई एकजुटगरि मधेशी जनताको अधिकारको रक्ष ागर्न दल दर्ता गरेको बताए । राजपाको छाता छाप जसपाको चुनाव चिन्ह भइसकेको छ । ‘महन्थ ठाकुर अथवा उपेन्द्र यादवको तर्फबाट दल दर्ता गरिएको होइन्’ अर्का सदस्य बजरंग यादवले भने, मधेशका मुख्य मुद्दाका लागि युवा शक्ति अगाडी बढेकोछ । ठाकुर र यादवले मधेशको मुद्दालाई सम्बोधन गराउन असफल भएकाले युवाहरु अगाडी बढनु परेको उनले बताए ।

संविधान अपूर्ण रहेको प्रमाणित भइसकेकाले पुनर्लेखनगरि मधेशको मागलाई सम्बोधन गर्नुपर्ने पार्टीको प्राथमिकता रहेको यादवले जनाए । गत वर्ष निर्वाचन आयोगमा राजपाको दर्ता दावी छाड्दै तत्कालिन नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिसोर यादव र अनिल कुमार झा सहित तत्कालिन समाजवादी जनता पार्टीसित एकिकृतगरि नयाँ दल जनता समाजवादी पार्टी(जसपा) बनाएका थिए । त्यसमा विभाजन भै आधिकारिकताको विवाद चलिरहेको बेला पूर्व राजपाका ठाकुर–महतो समुहले राजपालाई नै नयाँ दल दर्ता गराई अलग्गिने तयारी गरेका थिए । पूर्व राजपाका ‘टाठाबाठा’ केशव झा, सुरेन्द्र झा र मुकेश मिश्र लगायतले हे¥याहे¥यै भए । उनीहरुले राजपा दर्ताका लागि विधान बनाउने देखि हस्ताक्षर संकलन समेतको काम गरिसकेका थिए ।तर दल खारेज गरिएको एक वर्ष पुगेको मिति यकिन गर्न नसक्दा अरुले नै दल दर्ता गराए ।झाहरु असार २८ गते वर्ष पुग्ने र २९ गते दल दर्ता गर्ने तयारीमा थिए । राजपाका अध्यक्ष रहेका हरिनारायण यादव, कार्यकारिणी सदस्यद्वय बजरगकुमार यादव र चन्देश्वर महतो मधेश आन्दोलनमा ज्यान थापेर लागेका युवाहरु हुन् । धनुषा जिल्लामा मधेश आन्दोलनलाई उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका यादवद्वय र महतो जसपामा रहेपनि भूमिकाविहिन भएका थिए ।

उनीहरु जसपाको कुनै पदमा थिएनन् । मधेश आन्दोलनमा सकृयतापूर्वक लागेका युवाहरु हरिनारायण, बजरंग कुमार र चन्देश्व लगायतले उपेक्षित महसुसगर्दै दल नै दर्ता गराएका हुन् । ‘दल दर्ताका लागि चाहिने आवश्यक सम्पूर्ण प्रकृयाहरु पुरागरि आवेदन निर्वाचन आयोगमा दर्ता गराएका छौ’ अध्यक्ष हरिनारायण यादवले भने, आयोगले चुनाव चिन्ह सहित प्रमाण पत्र दिएपछि संगठन बिस्तारमा लाग्ने छौ । ‘यो दलमा कसैलाई निषेध गरिएको छैन्’ उनले भने, मधेशका लागि क्रियासिल सबैलाई समेटेर अगाडी बढने उदेश्य छ । उनले राजपामा महन्थ ठाकुर , राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, राजकिसोर यादव लगायतका नेताहरुलाई स्वागत गर्न पाउँदा गौरवान्वित हुने बताए । यस सम्बन्धमा पूर्व राजपाप्रति आकर्षण भएका नेताहरुको कुनै प्रतिकृया आएको छैन् । जसपाको आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले गठन गरेको इजलासमा साउन ३ गते दुवै पक्षलाई बोलाइएकोछ । आधिकारिकता सम्बन्धी प्रमाण सहित दुवै पक्षले इजलासमा दावी गर्ने छन् । आयोगले ढिलोमा भदौको पहिलो हप्ता निर्णय दिनैपर्ने बताइन्छ ।