८ बैशाख २०८१, शनिबार

प्रदेश २ का जिल्लाहरुमा एमालेले तोके अध्यक्ष र सचिव, प्रभु साह पक्ष असन्तुष्ट

Prabhu Sah
फाइल फोटो

नेकपा एमाले प्रदेश २ का बारा, रौतहट र सर्लाहीमा पनि अध्यक्ष र सचिव मनोनित गरिएको छ ।

यसअघि नै यस प्रदेशका ५ जिल्लामा अध्यक्ष र सचिव चयन गरिसकेको छ । बुधवार बसेको प्रदेश कमिटीको बैठकले रौतहट, बारा र सर्लाहीका अध्यक्षमा क्रमशः बलबीर चौधरी, तुलसी राज गिरी र राजनारायण साहलाई मनोनित गरियो । यस्तै रौतहट, बारा र सर्लाहीको सचिवमा क्रमशः मो. समिर, मनोज कुमार यादव र केदार खत्री मनोनित भएका छन् । अध्यक्षमा मनोनित भएका तीनैजना एमाले र सचिवमा चयन भएका तीनैजना पूर्व नेकपा माओवादी केन्द्रका नेता हुन् । रौतहटको सचिवमा मनोनित भएका मो. समिर माओवादी केन्द्रका प्रदेश २ का पदमुक्त समानुपातिक साँसद हुन् । एमालेमा लागेपछि माओवादीले उनलाई पदमुक्त गरेको छ । साँसदबाट माओवादीले हटाएपनि उनी सर्वोच्च अदालतमा रिट निवेदन समेत दर्ता गराएका छन् । रिट निवेदनमा साँसद पद पुर्नवहाली हुनुपर्ने माग गरिएको छ । स्रोतका अनुसार माओवादीबाट एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रभु साह समूह प्रदेश २ का जिल्लाहरुमा गरिएको अध्यक्ष र सचिव मनोनितको विषयमा असन्तुष्टि पोखिरहेका छन् । सहमति अनुसार पूर्व माओवादीलाई स्थान नदिएको नेता साह पक्षको आरोप छ । तर एमाले प्रदेश २ की अध्यक्ष ज्वाला साहले नेता साह स्थायी कमिटीमा नपरेपछि गलत भ्रम फैलाइरहेको बताउँछिन् ।

उनले जनकपुर टुडेसँग भनिन्, ‘एमालेमा प्रवेश गर्दा कुनै सम्झौता भएको छैन । सामाजिक सञ्चालमा कसले के लेख्छन्, त्यतातीर नहेर्नुस् । राजनीतिक योग्यता अनुसार हामी सम्मानजनक ठाउँ पाएका छौं ।’