६ बैशाख २०८१, बिहीबार

मनाङको नासोंमा मात्रै १ अर्बको भौतिक क्षति

manang 3

अविरल वर्षापछि आएको बाढीपहिराबाट नासों गाउँपालिकामा धेरै भौतिक क्षति भएको छ । गाउँपालिकाभित्र पर्ने जलविद्युत् आयोजना र सडक भत्किँदा रु एक अर्बभन्दा बढीको भौतिक क्षति भएको छ ।

गत जेठ १४ गतेदेखि परेको वर्षाले गर्दा आएको बाढीपहिराले गाउँपालिकामा रु एक अर्ब एक करोड ८३ लाख बराबरको सार्वजनिक भौतिक संरचनामा क्षति भएको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । गाउँपालिकामा सबैभन्दा बढी सडकमा क्षति पुगेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका सूचना अधिकारी गोविन्द रानाभाटका अनुसार सडकमा मात्रै रु ८३ करोड ६५ लाख बराबरको क्षति भएको छ । नासों क्षेत्रभित्र रहेका कच्ची तथा पक्की सडकमा उक्त रकम बराबरको क्षति भएको रानाभाटलले बताउनुभयो । बाढीपहिराले गाउँपालिकाकै प्रशासनिक भवनमा रु पाँच करोड बराबरको क्षति भएको अध्यक्ष घलेले जनाउनुभयो । पालिकाअन्तर्गतका सात पुलमध्ये चार पुल बगाएको छ भने तीन पुल मात्र मर्मत गर्न सकिने अवस्थामा रहेको रानाभाटले बताउनुभयो । उहाँका अनुसार पुलमा पूर्ण तथा आशिंक गरी रु पाँच करोड २० लाख बराबरको क्षति भएको छ ।

तीन जलविद्युत् आयोजनामा रु चार करोड ५० लाख बराबरको क्षति भएको छ । यस्तै रु तीन लाख बराबरको गाउँपालिकाको एउटा मोटरसाइकल पनि बाढीले बगाएको बताइएको छ । यही असार ४ गते मस्र्याङ्दी नदीको बाढीले हिमाली जिल्ला मनाङको गाउँपालिकाको भौतिक संरचनामा ठूलो क्षति पु¥याएको हो । वडा नं २ बाहेक सबै वडामा बाढीपहिराले ठूलो क्षति पुर्याएको छ ।

बाढी पहिराबाट १, ३, ४, ५, ६, ७, ८ र ९ नं वडा पूर्णरूपमा क्षति भएका छन् । बाढीपहिराले ३ नं वडामा रहेका सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुर्याएको छ । अध्यक्ष घलेका अनुसार १ नं वडाको तालगाउँ अहिले पूरै बगरमा परिणत भएको छ । मस्र्याङ्दीमा आएको बाढीले मनाङका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ । केही स्थानमा गोरेटो बाटो निर्माण गरिए पनि पुनः बाढीपहिराले लगेको छ । रासस