१३ बैशाख २०८१, बिहीबार

साउन १ गतेदेखि आइएमइआई दर्ता नगरिएका मोबाइल सेटहरू नचल्ने

mobile

साउन १ गतेदेखि यदि तपाई आफ्ना आफन्तले विदेशबाट पठाएका मोबाइल फोन चलाउने सोचमा हुनुहुन्छ भने अब त्यो सजिलै चलाउन सक्नुहुन्न किनभने दूरसञ्चार प्राधिकरणले इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी–(आइएमइआई) दर्ता नभएका मोबाइल सेटहरू साउन १ गतेदेखि नचल्ने जनाएको छ ।

स्तरीकरण गरिएका मोबाइल सेटहरू मात्रै नेपाल भित्र्याउने कानुनी व्यवस्था भए पनि अवैध रुपमा भन्सार छली गरेर मोबाइल सेटहरू भित्रिने गरेकाले त्यसमा रोक लगाउन आइएमइआई दर्ता प्रक्रिया सुरु गर्न लागिएको हो ।

नेपालमा भन्सार छलेर अवैध रुपमा गुणस्तर हीन मोबाइल सेटहरू बजारमा आउने क्रम बढेपछि सरकारले यसलाई नियन्त्रण गर्नका लागि आइएमइआई दर्ता गर्नै पर्ने व्यवस्था गरेको छ ।

विदेशबाट अवैध रुपमा आएका मोबाइल सेटहरू असुरक्षित हुनुका साथै त्यसबाट उपभोक्तालाई हुन सक्ने हानी नोक्सानी हटाउनका लागि सरकारले इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) दर्ता प्रक्रिया अगाडी बढाएको हो ।

नेपालमा स्तरीकरण गरिएका मोबाइल सेटहरू मात्रै ल्याउन पाउने कानुनी प्रावधान रहेकाले भन्सारका माध्यमबाट नेपाल भित्रिने मोबाइलहरूलाई डाटाबेसमा इन्ट्री गर्ने र तिनीहरुमात्रै प्रयोगमा ल्याउन पाउने व्यवस्था अनुसार अब साउन १ गतेदेखि भन्सार छली गरेर ल्याइने मोबाइल सेटहरू नेपालमा नचल्ने व्यवस्था गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

गुणस्तर हीन मोबाइल बजारमा आउने र त्यस्ता मोबाइल सेट असुरक्षित हुने, नटिक्ने जस्ता समस्या भएको भन्दै सरकारले साउन १ गतेदेखि विदेशबाट भन्सार छलेर ल्याइने मोबाइल सेटका लागि यस्तो प्रक्रिया अगाडी बढाइएको पनि प्राधिकरणका अध्यक्ष खनालले बताउनुभयो ।

हाल सञ्चलनमा रहेका मोबाइल सेटको हकमा भने उक्त मोबाइल सेटहरू प्राधिकरणको डाटा प्रणालीमा बसिसकेको हुनाले आईएमईआई नम्बर दर्ता नगर्दा पनि चल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

विदेशबाट ल्याइएको, रजिष्टर नगरिएको र भन्सारबाट नआएको तर हाल चलिरहेको मोबाइल सेटको हकमा समेत नियमानुसार प्रयोगकर्ताको मोबाइल सेटमा सूचना पठाएर दर्ताभित्र ल्याइने पनि प्राधिकरणका अध्यक्ष खनालले जानकारी दिनुभयो ।

सरकारले आइएमइआइ दर्ता नगरेका मोबाइल सेट नचल्ने भनेपछि आफ्नो मोबाइल सेट चल्दैन की भनेर आम मानिसले त्रसित रहनु पर्ने अवस्था भने छैन किन भने व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिएका हुन्छन् भने विदेशबाट कसैले व्यक्तिगत रुपमा ल्याइदिएको मोबाइल सेटको भने व्यक्ति स्वयंले दर्ता गर्नुपर्ने हुन्छ ।

त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले निश्चित दस्तुर तोक्ने र प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशन भन्ने स्थानमा गएर दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।