७ बैशाख २०८१, शुक्रबार

पुरिएका तीन जनाको शव फेला, एकको जीवितै उद्धार

60e67ab3eb373 flood darchula

दार्चुलाको नौगाड गाउँपालिकामा बाढी र पहिरोका कारण तीन जनाको ज्यान गएको छ । पहिरोमा च्यापिएर नौगाड गाउँपालिका–३ खार बस्ने २९ वर्षीय लक्ष्मण सितोली, ७२ वर्षीया गेउडी ठगुन्ना र उहाँकै तीन महिने नातनी मञ्जरी ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

पहिरोमा परी बेपत्ता भएका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पहिरोले १८ वर्षीया हरमती ठगुन्नाको खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको चन्दले बताउनुभयो । पहिरोमा च्यापिएर नन्दु ठगुन्नाको एउटा भैँसीको समेत ज्यान गएको छ । नौगाड गाउँपालिका–३ जामिरका स्थानीय गौरसिंह ठगुन्ना र गोठे टमटाको घर खारखोलामा आएको बाढीले बगाएको छ । खोला किनाराका अरु घरहरु पनि पहिरोको जोखिममा रहेको स्थानीय प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

बाढीले नौगाढ गाउँपालिका–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघुजलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको धामीले बताउनुभयो । बाढीले खार र जामिर जोड्ने झोलुङ्गे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीन वटा पानी घट्ट र तीन वटा पानीको मुहान पनि खोलाले बगाएको छ । बुधबार रातीको अविरल वर्षाका कारण नौगाड गाउँपालिका–६ स्थित धुलिगडा गाउँमा पनि खानेपानीका मूलहरु, दुई वटा पानी घट्ट बगाउनुका साथै धुलिगडा स्वास्थ्य चौकी र नजिकका घरहरु जोखिममा परेका छन् । घटनास्थलमा उद्धार कार्यका लागि स्थानीयसंगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ । बर्खा शुरु भएसँगै जताततै बाढी र पहिरोको जोखिम बढेको छ । दार्चुलाका सबै स्थानीय तहका विभिन्न क्षेत्र बाढी, पहिरोको उच्च जोखिममा छन् ।