१३ बैशाख २०८१, बिहीबार

न्याय मरेको छैन्ः एसिड पीडित

nyai 750x375 1

रौतहट जिल्ला अदालतले आफ्नै श्रीमती माथि तेजाव(एसिड) खन्याउने श्रीमानलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

अनुसन्धानको प्रकिया पुरा भएपछी थुनछेक बहस प्रयोजनका लागि मिसिल सहित पेश गरिएका आरोपित रौतहट जिल्लाका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी ४२ वर्षीय दिपक विकलाई जिल्ला न्यायाधीश श्याम विहारी मौर्यको एकल इजलासले कारागार चलान गरेको हो । अभियोजन पक्ष र प्रतिवादी पक्ष विचको कानुन व्यवसायीहरुको बहस पूरा भएपछि न्यायाधीश मौर्यले कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार सुशील कुमार यादवले जानकारी दिए । तत्काल संकलित प्रमाणबाट आरोपित दोषी देखिएको हुँदा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ (१) ख बमोजिम थुनामा राखी कार्यवाही गर्न आदेश गरेको हो । गएको जेठ २९ गते आरोपित विकले ३८ वर्षीय श्रीमती दिपिका विश्वकर्मालाई घरायसी विवादमा हत्या गर्ने उदेश्यले तेजाब प्रहार गरेका थिए । पछाडी लुकाएर राखिएको तेजाव अनुहारमा खन्याउन खोज्दा ज्यान जोगाउन गरेको प्रयासबाट हात, पेट र खुट्टामा परेको थियो ।

तेजावबाट पीडित महिलाको हात र पेट जलेको थियो । पीडक पक्षले मुद्दा मिलापत्र गर्न पीडित माथि पटक पटक दवाव दिदै आएको र अदालतबाट छुट्टाउने ठोकुवा गर्दै आएपनि न्यायपालिका माथिको विश्वास अटल रहेको पीडित महिलाले बताइन् । अदालतबाट आएको आदेशले न्याय प्रतिको विश्वास अझ बढेको प्रतिक्रिया उनले दिइन् । मेरो विश्वास थियो उनी जेल जान्छ, उनले थपिन–न्याय पाउँछु । पीडक पक्षले अदालतबाट धरौटीमा छुट्टाउन गरेको प्रयास असफल भएको बताउँदै पीडित विश्वकर्माले भनिन्– ‘आर्थिक चलखेल गर्नेको हार भाको छ ।’ पीडकलाई कारागारमा राख्दा मेरो भावनाको कदर भएको उनले बताईंन । जिल्ला न्यायाधीशलाई आभार व्यक्त गर्दै पीडकलाई जसरि भए पनि सजाय दिलाएर नै छाड्ने प्रतिवद्धता व्यक्त गरिन् । कारागारको लागि प्रहरीले लग्दै गर्दा अन्तिम पटक श्रीमती सित भेट गर्ने इच्छा जाहेर गरेका विकलाई पत्नीले भेट गर्न समेत इन्कार गरेका थिए ।